२०८३ कार्तिक १ गते शनिवार

ग्रुमाहचोकमा दुर्घटना न्यूनीकरण गर्न डिभाइर स्थापनामा डिभाइन एजुकेशन फाउण्डेशनको सहयोग

दाङ । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना गराउने उद्देश्यले दाङको तुलसीपुर–६ स्थित डिभाइन टेम्पल एजुकेशन फाउण्डेशनले तुलसीपुरको ग्रुमाहचोकमा डिभाइडर सहयोग गरेको छ ।

डिभाइडर नहुँदा सवारीसाधनले लेन अनुशासन उल्लंघन गर्ने र दुर्घटनाको जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै फाउण्डेशनले डिभाइडर उपलब्ध गराएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर शम्भु धिताल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको उपस्थितिमा डिभाइडर राखिएको हो ।

फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत भोजराज न्यौपानेले शैक्षिक गतिविधिसँगै मानवीय सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले डिभाइडर सहयोग गरिएको बताउनुभयो ।

डिभाइडर राखिएपछि सवारीसाधनलाई लेन अनुशासनमा राख्न सहयोग पुग्ने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर पराजुलीले शिक्षासँगै मानवीय सुरक्षामा फाउण्डेशनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

डिभाइडरको सङ्ख्या थोरै भए पनि सडक सुरक्षामा यसको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । विद्यार्थीलाई ज्ञान र सीप प्रदान गर्दै आएको शैक्षिक संस्थाले डिभाइडर सहयोग गरेर ट्राफिक नियम पालना गर्नुपर्ने महत्वपूर्ण सन्देशसमेत दिएको उहाँले बताउनुभयो ।

यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले ग्रुमाहचोकमा विगतमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति बेहोर्नुपरेको स्मरण गर्नुभयो ।

डिभाइडर स्थापनाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै उहाँले ट्राफिक नियमको पालना र सडक सुरक्षाका लागि निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वमा जोड्ने अभियान संचालन गरिएको पनि बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण केसीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस