२०८३ बैशाख १७ गते बिहिवार

डिभाइन टेम्पल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूकोे प्रयोगात्मक अभ्यास

दाङ । दाङको तुलसीपुरमा रहेको डिभाइन टेम्पल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास गरेका छन् । कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले तुलसीपुरस्थित कुमाख कलेजसँगको समन्वयमा आयोजित फुड टेस्टिङ कार्यक्रममार्फत उनीहरूले आफ्नो १५ दिनको अभ्यासलाई समापन गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार पारी उपस्थित अतिथिहरूलाई ती परिकारका विशेषता, सामग्री र बनाउने विधिबारे जानकारी गराएका हुन । त्यसपछि उनीहरूले तयार पारेका परिकार अतिथिहरूलाई खुवाएका हुन् ।

विद्यार्थीहरूले होटल म्यानेजमेन्ट अध्ययनमार्फत पढ्दै कमाउँदै गर्न सकिने, आत्मनिर्भर बन्न सकिने र स्वदेशमै स्वरोजगार बन्न सकिने बताएका छन् । विद्यालयले किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई पनि प्राथमिकतामा राख्दै आएकोले आफूहरू व्यवहारिक रूपमा समेत दक्ष बन्दै गएको बताएका छन् ।

विद्यार्थीहरु रञ्जिता रिजाल र श्रीधर बस्नेतले संयुक्त रूपमा आफ्नो अनुभव सुनाउँदै फुड टेस्टिङ कार्यक्रमले आफुहरुलाई कक्षा कोठामा सिकेका कुरा व्यवहारमा उतार्ने अवसर पाएको बताएका हुन् । डिभाइन टेम्पल एकेडेमीका सीईओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि भुसालले यस्ता प्रयोगात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई सीपमुखी बनाउँदै भविष्यमा उद्यमशील बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै फाउन्डेसनका सीईओ न्यौपानेले विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षालाई जोड दिँदै आएको र यसले विद्यार्थीहरूको आत्मविश्वास तथा क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

डिभाइन टेम्पल एकेडेमीका प्लस टु कोअर्डिनेटर आकाश सिंहले विद्यार्थीहरूलाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । होटेल म्यानेजमेन्टका शिक्षक कमल पन्थीले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपमा दक्ष बनाउन यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउनुभयो ।

उहाँले फुड टेस्टिङ जस्ता अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुति क्षमता र व्यावसायिक दक्षता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो । त्यस्तै कुमाख कलेजका सञ्चालक तुफान केसीले शैक्षिक संस्थाबीचको सहकार्यले गुणस्तरीय शिक्षा प्रदान गर्न थप टेवा पुग्ने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन एकेडेमीका कार्यक्रम संयोजक पूर्ण केसी मुस्कानले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस