तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ को आयोजनामा ‘वडाध्यक्ष कप फूटबल प्रतियोगिता हुने भएको छ । वैशाख २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता थारु गैरा खेल मैदान, बराहथान टोलमा आयोजना गरिनेछ ।
वडा कार्यालयका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक समूहहरुले वैशाख २१ देखि २५ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ । दर्ताका लागि नागरिकता, जन्मदर्ता तथा बसाइसराइका कागजात अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा वडा नंम्बर ७ का स्थायी बासिन्दा खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् ।
प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने खेल फिफाको नियमअनुसार हुने आयोजकले बताएको छ । प्रत्येक खेल ३०–३० मिनेटको हुनेछ । निर्धारित समयमा गोल नभए पेनाल्टी सुटआउटमार्फत विजेता टिम टुंग्याइनेछ । एकजना खेलाडीले एउटै समूहबाट मात्र खेल्न पाउने व्यवस्था गरिएको छ । प्रत्येक टिममा १५ खेलाडी र एक अफिसियल गरी १६ सदस्य रहनेछन् ।
खेलका क्रममा सामान्य चोटपटकको उपचार आयोजकले गर्ने जनाइएको छ भने गम्भीर चोटपटकको उपचार खर्च सम्बन्धित टिम वा खेलाडी स्वयंले व्यहोर्नुपर्नेछ । खेलसम्बन्धी विवादमा रेफ्रीको निर्णय अन्तिम हुनेछ भने अन्य विषयमा आयोजकको निर्णय अन्तिम मानिनेछ । प्रतियोगिताको उद्घाटन वैशाख २९ गते बिहान ८ बजे हुने कार्यक्रम तय गरिएको छ ।















