२०८३ साउन २६ गते मङ्गलवार

वडा नम्बर ७ को अध्यक्ष कपको उपाधि रामनगर टोललाई


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा आयोजित वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

वैशाख २९ गते मंगलबारदेखि वडा नम्बर ७ को आयोजनामा थारू गैरा खेलमैदान वराहथानमा सुरू भएकोे प्रतियोगिताको हिजो बिहिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

प्रतियोगितामा रामनगर गैरापातु टोल विकास संस्था प्रथम भएको छ । त्यसैगरी बराहथान टोल विकास संस्था द्वितीय तथा चौतारी जलधारा टोल विकास संस्था तृतीय भएको प्रतियोगिताका संयोजक मानबहादुर रानाले जानकारी दिनुभयो ।

प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँ, द्वितीय हुने टोलीले १५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) रामनगर गैरापातु टोल विकास संस्थाका बादल राना तथा उत्कृष्ट गोलरक्षक (बेस्ट किपर) चित्रबहादुर नेपालीलाई जनही एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको संयोजक रानाले बताउनुभयो । प्रतियोगितामा आठ वटा टोल विकास संस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामबहादुर जिसीले खेलाडीहरू व्यक्तित्व विकाससँगै राष्ट्रको पहिचानसँग जोडिने भएकाले स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि यस वर्ष वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ ।

वडा अध्यक्ष जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका सबै जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । वडा सदस्य शोभाराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडाका कर्मचारी सन्तोष केसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस