दाङ । तुलसीपुर उपमहानगरपालिकाले पञ्चवर्षिय दोस्रो आवधिक योजना निर्माणको प्रक्रियालाई तीव्र पारेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मको पाँच वर्ष अवधिका लागि तयार पारेको दोस्रो आवधिक विकास योजनाको मस्यौदा उपर आइतबार वृहत अन्तर्क्रिया तथा छलफल कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला निकायको उपस्थिति रहेको थियो । उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पहिलो आवधिक योजनाको समीक्षा गर्दै दोस्रो योजनालाई थप व्यावहारिक, नतिजामुखी र तुलसीपुरको दिगो विकासमा केन्द्रित बनाइने बताउनुभयो ।

उहाँले नगरको आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल रूपान्तरणका क्षेत्रलाई प्राथमिकतामा राखेर पाँच वर्षभित्र ठोस परिवर्तन देखिने गरी योजना ल्याउन लागिएको जानकारी दिनुभयो ।
यस्तै उपप्रमुख स्यानी चौधरीले दोस्रो आवधिक योजनामा महिला, बालबालिका, विपन्न, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको आर्थिक सशक्तीकरणका लागि विशेष प्याकेज र कार्यक्रमहरू समावेश गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले आवधिक योजनाले तुलसीपुर उपमहानगरपालिकालाई सफल गन्तव्यका लागि दिशानिर्देश गर्ने बताउनुभयो । वडा र विभिन्न शाखाबाट आएका योजनाले नगरको नीति योजना बनाउने आधार बन्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी विज्ञ तथा विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिले मस्यौदामाथि विभिन्न रचनात्मक सुझावहरू दिएका छन् । सहभागीहरूले स्थानीय स्रोत–साधनको अधिकतम परिचालन, रोजगारी सिर्जना, कृषि र पर्यटनको प्रवद्र्धन तथा सुशासनलाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत, आर्थिक विकास समितिका संयोजक माधव वली , कृषि विकास समितिका संयोजक लक्ष्मण चौधरी, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी ‘वर्षात’, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसी लगायतले पाँच वर्षमा गर्न सकिने योजना बारेमा सुझाव दिनुभयो ।
यस्तै शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, स्वास्थ्य महाशाखाका प्रमुख ओमपी न्यौपाने, विपद व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगी, पशु सेवा शाखाका प्रमुख डा. मनोज वली, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखा प्रमुख शिवकुमार शर्मा लगायतले आवधिक योजनाको लागि आवश्यक सुझाव दिनुभएको छ ।
प्राप्त सुझाव र पृष्ठपोषणहरूलाई समेटेर मस्यौदालाई अन्तिम रूप दिई योजना पारित गरिने उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रमको सहजीकरण योजना तथा बजेट शाखा प्रमुख रमा खड्काले गर्नुभएको हो ।
















