दाङ, ३१ जेठ । तुलसीपुरमा रहेको हिमाल एकाडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यार्थीलाई नयाँ शैक्षिक वातावरणसँग परिचित गराउँदै गुणस्तरीय शिक्षाप्रति उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष श्रमलाल चौधरीले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक, नैतिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिँदै आएको बताउनुभयो । उहाँले अध्ययनसँगै अनुशासन, सिर्जनशीलता र क्षमताको विकासमा विद्यार्थीले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रधानाध्यापक मधुसुदन केसीले विद्यालयको शैक्षिक इतिहास, विगतका उपलब्धि, भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक गुणस्तरका बारेमा जानकारी गराउनुभएको हो । उहाँले विद्यार्थीलाई लक्ष्य निर्धारण गरेर निरन्तर मेहनत गर्न आग्रह गर्दै विद्यालयले हरेक क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अबसरमा विद्यार्थीहरूलाई पठनपाठन प्रणाली, परीक्षा मूल्याङ्कन, अनुशासन, पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधिको प्रयोग तथा विभिन्न क्लब गतिविधिबारे पनि जानकारी दिइएको हो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, कविता, गजल वाचन तथा अन्य सांस्कृतिक प्रस्तुती राखेका हुन् ।
क्याम्पस सञ्चालक समितिका सदस्य बलदेव शर्माको अध्यक्षता तथा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष श्रमलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक भीमलाल मरासिनीले गर्नुभएको हो ।



















