२०८३ असार १० गते बुधवार

घोराही–तुलसीपुर सडकको काम १६ प्रतिशत मात्र


दाङ, १० असार । दाङका घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिकोे काम भइरहेको छ । गत मङ्सिर महिनादेखि सुरु भएको सडक स्तरोन्नतिको कामले सात महिनाको अवधिमा १६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

सडक डिभिजन कार्यालय दाङले घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६, हात्तीखौवासम्म करिब २१.५८ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने काम भइरहेको जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले सडक निर्माण अन्तर्गत पहिलो चरणमा कलभर्ट, नाला निर्माणसँगै माटो कटान गर्ने कामलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार ३० मिटर चौडाइको सडक कालोपत्रे हुने क्षेत्रबाहेक सडकको दायाँबायाँ करिब १४ किलोमिटरसम्म माटो कटानको काम सकिएको छ ।

त्यसै गरी घोराहीको रतनपुरदेखि बेलझुन्डीसम्म ३७ वटा बक्स कलभर्ट निर्माणको अन्तिम चरणमा पुगेका छन्‌ । ३७ वटा बक्स कलभर्टसँगै तीन वटा स्ल्याब कलभर्ट निर्माणको काम भइरहेको छ ।

घोराहीदेखि दुधराससम्मको सडकखण्डमा पर्ने भौतिक संरचनासँगै रुखसमेत हटाइसकेकाले सडक निर्माणका क्रममा अब कुनै अवरोध नपर्ने आयोजना प्रमुख विष्टको भनाइ छ । सडक खण्ड अन्तर्गत खैरा, दुधरास, सौडीकुला र नारायणपुर क्षेत्रमा तीन किलोमिटर नालासमेत निर्माण गरिएको छ ।

पहिलो चरण अन्तर्गत सडक क्षेत्रमा पर्ने भौतिक संरचना, विद्युत् पोलसँगै रुख हटाउनुपर्ने भएका कारण काममा केही सुस्तता भए पनि अब सडक विस्तार कामले गति लिने छ । सडक स्तरोन्नतिका लागि २०८२ असार २४ गते दुई अर्ब ५३ करोड रुपियाँको लागतमा दिवा–बन्दन भगवती जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेभित्र सडक विस्तारको काम सक्नुपर्ने छ । कार्यालय प्रमुख विष्टका अनुसार १६ प्रतिशत भौतिक प्रगति भएको सडकको १० प्रतिशत वित्तीय प्रगति रहेको छ ।

निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीले एक्साभेटर, ग्रेडर, रोलर, ब्याकहो लोडर, टिप्पर, ट्रेलर, क्रेन, ट्याक्टर, डोजर र ह्विल लोडरसहित ४० वटा निर्माण उपकरण तथा सवारीसाधन परिचालन गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस