२०८३ असार १० गते बुधवार

१० वर्षपछि कतारबाट फर्किएर ईभी व्यवसाय सुरु


दाङ, १० असार । वैदेशिक रोजगारीबाट फर्किएका युवा र स्थानीय व्यवसायीको साझेदारीमा तुलसीपुरमा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालनमा आएको छ । तुलसीपुर–६, का नन्दलाल कँडेल र बबई गाउँपालिका–४ का देविदत्त अधिकारीले संयुक्त रूपमा शिवशक्ति अटोमोबाइल्स सञ्चालनमा ल्याएका हुन् ।

कतारमा १० वर्ष बसेर नेपाल फर्किएका कँडेल र हापुरेमा अटो वर्कशप सञ्चालन गर्दै आएका अधिकारीले करिब ३० लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका हुन् ।
शोरुममा सारथी ब्रान्डका ईभी स्कुटर, बालबालिकाका लागि ईभी बाइक तथा स्कुटर बिक्री–वितरण गरिने सञ्चालकहरूले बताएका छन् ।

पछिल्लो समय इन्धनको मूल्यवृद्धिसँगै विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखेर व्यवसाय सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ । व्यवसायबाट हाल तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बुधबार आयोजित एक कार्यक्रमका बीच तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष देवबहादुर केसीले रिबन काटेर सोरुमको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै केसीले स्वदेश फर्किएका युवाले आफ्नै ठाउँमा लगानी गरी उद्यम सञ्चालन गर्नु सकारात्मक कदम भएको बताउँदै यस्ता व्यवसायले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस