२०८३ असार १० गते बुधवार

जेठ मसान्तसम्म तुलसीपुर उपमहानगरको बजेट खर्च ५२ प्रतिशत


दाङ, १० असार । तुलसीपुर उपमहानगरले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ५२ दशमलव ९२ प्रतिशत खर्च गरेको छ । विभिन्न क्षेत्रगत कार्यक्रमतर्फ विनियोजन गरिएको २ अर्ब ११ करोड ३६ लाख २१ हजार २ सय ६१ रुपैयाँमध्ये १ अर्ब ११ करोड ८५ लाख २६ हजार ३ सय १४ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

क्षेत्रगत रूपमा सामाजिक विकासतर्फ सबैभन्दा बढी ६८ दशमलव २७ प्रतिशत बजेट खर्च भएको छ । यस क्षेत्रमा विनियोजित ८५ करोड २० लाख ५ हजार ८ सय ३ रुपैयाँमध्ये ५८ करोड १६ लाख ४६ हजार ३ सय १५ रुपैयाँ खर्च भएको छ ।

आर्थिक विकासतर्फ ९ करोड ६० लाख ६८ हजार ४ सय ६६ रुपैयाँ विनियोजन गरिएकोमा २ करोड ५६ लाख ६३ हजार ४ सय ५० रुपैयाँ खर्च हुँदा खर्च प्रतिशत २६ दशमलव ७१ रहेको छ ।

त्यस्तै, पूर्वाधार विकासतर्फ ६५ करोड ४१ लाख ६ हजार १ सय ५२ रुपैयाँ विनियोजन गरिएकामा २१ करोड २७ लाख ५९ हजार ८ सय ५४ रुपैयाँ खर्च भएको छ, जुन ३२ दशमलव ५३ प्रतिशत हो ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ४ करोड ७८ लाख ५ हजार ९ सय ५ रुपैयाँमध्ये १ करोड ९३ लाख २२ हजार २ सय ६७ रुपैयाँ खर्च भई ४० दशमलव ५९ प्रतिशत प्रगति हासिल भएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ३८ लाख ३४ हजार ९ सय ३५ रुपैयाँ विनियोजन गरिएकामा २७ करोड ९२ लाख ३४ हजार ४ सय २७ रुपैयाँ खर्च भएको छ । यो खर्च प्रतिशत ६० दशमलव २ रहेको छ ।

समग्रमा सामाजिक विकास र प्रशासनिक क्षेत्रको खर्च सन्तोषजनक देखिए पनि आर्थिक विकास तथा पूर्वाधार विकासतर्फको खर्च अपेक्षाकृत कम रहेको तथ्यांकले देखाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस