दाङ । असार २४ गते बुधबारको रात तुलसीपुर–९ बेलुवाका जनक वली र उहाँकी श्रीमतीको दुई वटै मोबाइल कोठाबाटै चोरी भयो । चोरले रातीको समयमा कोठाभित्रै पसेर दुईवटै मोबाइल गायब पारेको थियो ।
तर, यो चोरीको घटना चलचित्रको कथा जस्तै छ ।
घटनाको भोलिपल्ट अर्थात् असार २५ गते बिहीबार । तुलसीपुर–७ निवासी प्रकाश रिजाल सधैँझैँ आफ्नो कार्यक्षेत्र ‘टेक्टर व्यवसायी समिति’को कार्यालयमा पुग्नुभयो । उहाँ कार्यालय प्रमुख हुनुहुन्छ । कार्यकक्षमा प्रवेश गर्दा उहाँको नजर पूर्वतर्फको ढोका नजिकै एउटा सामसुङ कम्पनीको मोबाइलमा पर्यो ।
सुरुमा त उहाँलाई कार्यालयकै कुनै स्टाफको होला भन्ने लागेको थियो ।
तर, घटनाले त्यतिबेला नयाँ मोड लियो, जब अन्दाजी २०–२१ वर्षका एक अपरिचित युवक कार्यालयमा छिरे । ती युवकले सोझै त्यो मोबाइल आफ्नै भएको दाबी गरे ।
विश्वास दिलाउन उनले एउटा कथा पनि बुने— ‘गएराति बसपार्कको दोहोरी साँझबाट घर फर्किँदै गर्दा चोरले मोबाइल लुट्न खोज्यो । म ज्यान जोगाउन भाग्दै आएँ र यही कार्यालयको ढोकाको माथिबाट मोबाइल भित्र लुकाएर भागेको हुँ ।’
कार्यालय प्रमुख रिजाललाई सुरुमा त युवकको कुरा साँचो नै हो कि जस्तो लाग्यो । तर, युवकको हाउभाउमा केही शङ्कास्पद लागेपछि उहाँले युवकलाई सोध्नुभयो— ‘ल ठीक छ, यसको मोबाइल नम्बर कति हो भन त ?’ युवक अकमकायो र भन्यो— ‘यसमा सिमकार्ड नै छैन ।’
महंगो मोबाइल बोकेर हिँड्ने मान्छेले सिमकार्ड नै छैन भन्नु आफैँमा शङ्कास्पद थियो । रिजालको झन् शङ्का लाग्यो र उहाँले थप परिचय माग्नुभयो । युवकले आफू एउटा बसको सहचालक भएको बतायो । तर, जब रिजालले ‘कुन बस हो ? नम्बर कति हो ? चालकको नाम के हो ?’ भनेर केरकार गर्न गर्नुभयो, तब युवक नाजवाफ भयो । उसले न बसको नम्बर दिन सक्यो, न चालकको नाम ।
युवकको गतिविधि र बोली पूर्ण रूपमा शङ्कास्पद देखिएपछि रिजालले भन्नुभयो–‘यसरी मोबाइल पाइँदैन, तिम्रो कोही अभिभावक लिएर आऊ, अनि मात्र मोबाइल दिन्छु ।’
अभिभावक बोकेर ल्याउने हैसियत ती युवकको थिएन, किनकि त्यो मोबाइल उनको छँदै थिएन । ‘एकैछिन है त, म बोलाएर ल्याउँछु’ भन्दै निस्किएका ती युवक त्यसपछि फर्केर आएनन् ।’
उनी मध्यरातमा चोरी गरेर भाग्दै गर्दा पक्राउ पर्ने डरले वा हतारमा त्यो मोबाइल त्यहाँ छाड्न बाध्य भएको सहजै अनुमान लगाउन सकिन्छ ।
ती युवक गायब भएपछि रिजालले बसपार्क प्रहरी बिटलाई खबर गर्नुभयो । त्यसपछि प्रहरीले उहाँलाई ति युवक आएपछि खबर गर्नु भनेको थियो । तर युवक दिउँसोसम्म नआएपछि रिजाल नजिकैको विशाल मोबाइल पसलमा पुग्नुभयो । त्यहाँका व्यवसायी पूर्ण बहादुर रसाइलीलाई घटना विवरण सुनाएपछि रसाइलीले पनि मामला शङ्कास्पद रहेको ठहर गर्नुभयो ।
त्यसपछि त्यो मोबाइल हराएको आधिकारिता तुलसीपुरका मोबाइल व्यवसायीहरूको ग्रुपमा फेला परेको थियो । त्यसपछि रिजाललाई मोबाइल धनिको पहिचान गर्न झनै सहज भयो ।
मोबाइलको फोटो ग्रुपमा आएपछि तुलसीपुरकै नन्दनी मोबाइल पसल’का सञ्चालकले उक्त मोबाइल आफ्नै पसलबाट बिक्री भएको पहिचान गर्नुभयो । पसलको रेकर्ड पल्टाएर हेर्दा मोबाइल धनी तुलसीपुर–९ बेलुकाका जनक वली भएको पत्ता लाग्यो ।
त्यसपछि व्यवसायी र रिजालको समन्वयमा वलीलाई कार्यालयमा बोलाइयो । कार्यालय आइपुगेका वलीले जब मोबाइलको ‘प्याटर्न लक’ खोल्नुभयो, तब प्रमाणित भयो— मोबाइल उहाँकै हो ।

हराएको मोबाइल अर्कैको हातबाट घुम्दैफिर्दै आफ्नै हातमा आइपुग्दा जनक वली खुसी हुनुभयो र सँगै चोरी भएको श्रीमतीको मोबाइल पनि भेटिने आशा लागेको छ ।
‘मेरो मोबाइल त भेटियो, तर श्रीमतीको मोबाइल अझै भेटिएको छैन ।’ वलीले भन्नुभयो–‘एउटै कोठाबाट दुईवटै मोबाइल गायब भएकाले लैजाने व्यक्ति त्यही युवक वा ऊ सँगैको गिरोह हुनुपर्छ । एउटा भेटिएजस्तै अर्को पनि भेटिने आशा छ ।’
असार ३१ गते बुधबारका दिन कार्यालय प्रमुख प्रकाश रिजालले उक्त मोबाइल इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतको बसपार्क बिटका इन्चार्ज दिग विजय केसीलाई बुझाउनुभएको थियो । प्रहरीकै रोहबरमा वलीले आफ्नो ५६ हजारको मोबाइल फिर्ता पाउनुभएको छ ।
आफ्नो हराएको सामान सुरक्षित रूपमा फिर्ता पाउनका लागि टेक्टर व्यवसायी समितिका कार्यालय प्रमुख प्रकाश रिजालले खेलेको इमानदार र सचेत भूमिकाप्रति पीडित जनक वलीले धन्यवाद ज्ञापन गर्नुभएको छ । तुलसीपुरमा पछिल्लो समय मोबाइल चोरीका घटना अत्याधिक हुने गरेका छन् । प्रहरीका अनुसार प्रायजसो एउटै व्यक्ति धेरैपटक मोबाइल चोरीको घटनामा संलग्न हुने गरेका छन् ।






















