दाङ । दाङमा नौ वर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तीलाई जन्मकैदको फैसला सुनाइएको छ । घोराही उपमहानगरपालिका– १८ निवासी ३८ वर्षीय टेकबहादुर विकलाई जन्मकैदको फैसला सुनाइएको हो ।
मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश यज्ञबहादुर रानामगरको संयुक्त इजलासले मंगलबार उक्त फैसला सदर गरेको हो । यसअघि दाङ जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले ०८२ साल असार १० गते प्रतिवादीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।
कानुनबमोजिम जन्मकैद गम्भीर सजाय भएकाले मुद्दामा माथिल्लो अदालतबाट अनिवार्य रूपमा जाँच गरिनुपर्ने प्रावधानअनुसार उक्त मिसिल उच्च अदालत तुलसीपुर पठाइएको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उचित ठहर्याउँदै सदर फैसलामार्फत उक्त निर्णयलाई अन्तिम रूप दिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ लागू हुनुअघि (तत्कालीन मुलुकी ऐन २०२० अनुसार) उमेर र गम्भीरता हेरी अधिकतम २० वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो । तर, २०७५/२०७७ सालका कानुनी संशोधनहरूपश्चात् १० वर्षभन्दा कम उमेरकी बालिका, ७० वर्षभन्दा माथिका वृद्धा वा पूर्ण अशक्त र अपांगता भएका महिलालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था गरिएको छ ।
मुलुकी अपराधसंहिताबमोजिम बलात्कार गरी हत्या गरेमा वा क्रूर तरिकाले गम्भीर अपराध गरेमा जीवित रहेसम्म कैद हुने कडा सजायको व्यवस्था छ । सामान्य जन्मकैदको अवधि २५ वर्ष मानिन्छ ।
२०८० साल असोज ८ विद्यालयबाट आफ्नो छोरासँगै ती बालिका आएकी थिइन । बालिकाका आमा र बुबा दुवैजना मजदुरी गर्न घरभन्दा बाहिर थिए । त्यही क्रममा विद्यालयबाट फर्किएकी ती बालिकालाई यतै बस भनेर घरमा बसाएका थिए । त्यही क्रममा विकका छोरा र ती बालिका ओछ्यानमा पल्टिएर पढिरहेको अवस्थामा बालिकालाई जबर्जस्ती करणी गरेका थिए ।
उनले करणी गरिरहेको अवस्थामा उनकी श्रीमती सीमा विकले देखेपछि होहल्ला भएको थियो । श्रीमतीले कराएपछि मात्र प्रतिवादीले बालिकालाई छोडेका थिए र बालिका रुँदै आफ्नो घर गएर आमालाई घटनाबारे जानकारी गराएकी थिइन् ।
सो कार्यमा दोषी देखिएका विकलाई सात लाख रुपैयाँ जरिवाना, पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा दुई हजार आठ सय जम्मा गर्नेसमेत आदेश दिइएको छ ।
प्रतिवादीले अनुसन्धानका क्रममा कसुर स्वीकार गरे पनि अदालतमा बयान दिँदा श्रीमतीले फसाउन खोजेको भन्दै इन्कार गरेका थिए, तर पीडितको बयान र स्वास्थ्य परीक्षण रिपोर्टले घटनाको पुष्टि गरेको हो ।





















