दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालय तहदेखि नै सडक सुरक्षा शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य गरी विद्यालयस्तरबाटै युवापुस्तालाई सडक सुरक्षाबारे सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकार सडक सुरक्षा प्रवर्धनका लागि आवश्यक साझेदारी गर्न तयार रहेको उल्लेख गर्दै उहाँले युवामा ट्राफिक अनुशासन र जिम्मेवारीबोध विकास गर्न सके सवारी दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र ती दुर्घटनामा विशेष गरी १६ देखि ३० वर्ष उमेर समूहका युवा बढी प्रभावित हुने गरेको बताउनुभयो । उहाँले यसलाई प्रदेशको गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटनाको सङ्ख्या बढी रहेको जानकारी दिनुभयो ।
तीव्र गति, लागुऔषध सेवन, चालकको लापर्बाही, पुराना सवारीसाधन तथा गुणस्तरहीन सडक दुर्घटनाका प्रमुख कारण रहेको उल्लेख गर्दै उहाँले प्राविधिक मापदण्ड अनुसारका गुणस्तरीय सडक निर्माणसँगै ट्राफिक नियम कडाइसाथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शङ्करसिंह धामीले आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म लुम्बिनी प्रदेशमा सात हजार ८६६ सवारी दुर्घटना भएको जानकारी दिनुभयो । चार वर्षको अवधिमा ती दुर्घटनामा दुई हजार ५२५ जनाको मृत्यु, पाँच हजार ४१६ जना गम्भीर घाइते तथा छ हजार ८०४ जना सामान्य घाइते भएका छन् ।
उहाँका अनुसार दुर्घटनामा संलग्न सवारीमध्ये छ हजार २७१ वटा दुईपाङ्ग्रे सवारी रहेका छन्, जुन कुल दुर्घटनाको करिब ५७ प्रतिशत हो । अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेका छन् भने करिब ९० प्रतिशत दुर्घटना चालकको लापर्बाहीका कारण हुने गरेको अध्ययनले देखाएको छ ।





















