दाङ । हाम्रो पहुँच सेकेन्डरी स्कुलका शिक्षक र अभिभावकविच छलफल भएको छ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच स्कुलले आइतबार कक्षा २ र ३ का बालबालिकाको अभिभावकसंग उनिहरुको पढाइ, जिज्ञासा र गुनासाको बारेमा छलफल गरेको हो ।
त्यसअबसमा हाम्रो पहुँच बहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले असल शिक्षा दिने थलो विद्यालय भएपनि उनिहरुको संस्कार र अनुसाशन घरबाटै तय हुने बताउनुभयो ।
उहाँले पछिल्लो समय कामको व्यस्ताले अभिभावक र बच्चाहरुले धेरै समय एकआपसमा बिताउन नसकेको बताउनुभयो । त्यसमा पनि फुर्सद हुने बित्तिकै बालबालिकाले मोवाइलमै ध्यान दिने गरेको बताउनुभयो ।
मोवाइलको लत हटाउन, उनिहरुको बानी व्यबहार बुझ्न, खानपानमा ध्यान दिन अभिभावकले बिषेश निगरानी गर्नुपर्ने बताउनुभयो । खासगरी उनिहरुलाई घरकै खानामा जोड दिन आग्रह गर्नु भएको छ ।
बालबालिकाले जिद्दी गरेको भन्दै उनिहरुलाई प्याकेटको जंकफुड दिनु भन्दा घरमै मकै, भट्मास, चिउरा जस्ता थुप्रै परिकार बनाएर विद्यालय पठाउनु पर्ने बताउनुभयो । बालबालिकाले विद्यालयमा ६ घण्टा मात्र बिताउने भएकाले बाँकी समयमा अभिभावकले हेरचाह गर्नुपर्ने बताउनुभयो ।
यसैगरी सहकारी संस्थाका सचिव जीवराज अधिकारीले पछिल्लो समय अभिवावकले आफुले फोन धेरै हर्ने अनि बच्चालाई पढ् भन्ने बानीले उनिहरुको पढाइ राम्रो नहुने बताउनुभयो । त्यसको लागि बच्चालाई आफुसंगै राखेर पढाउदै सिकाउने काम गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यतिमात्र नभएर ८ देखि १० वर्ष उमेर समुहका बच्चालाई आफुले खाएको भाडा धुन, करेसाबारी गोड्न, फलफुलका बोट विरुवाहरुलाई हेरचाह र स्याहार गर्ने कुरा पनि सिकाउन आग्रह गर्नु भएको छ । आफ्नो बच्चालाई आफैसंग राखेर हरेक कुरा सिकाउनुपर्ने बताउनुभयो ।
यस्तै विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थीको पढाइ, लेखाइ र सिकाइमा शिक्षकले मात्र बल गरेर नपुग्ने भन्दै अभिभावकले उनिहरको कमि कजोरी केलाएर त्यसै अनुसार छोराछोरीको भावना बुझ्न आवश्य रहेको बताउनुभयो ।
उनिहरुको क्रियाकलाप, घरमा बस्दाको आनीबानीका बारेमा विद्यालयलाई जानकारी गराउनुपर्ने, उनिहरुको कक्षाका सबै शिक्षक र मिल्ने साथीहरुको बारेमा अभिभावकले जानकारी लिइराख्नुपर्ने, दैनिक गृहकाय र्हेनेलगायतका काम गर्नुपर्ने, केहि समस्या भएमा सम्बन्धित शिक्षकसंग बुझ्नुपर्ने र विद्यालयसंग सधै नजिक रहने गर्नाले पनि विद्यार्थीका धेरै कुरामा सुधार गर्न सकिने बताउनुभयो ।
यसैगरी अभिभावकहरु अस्मीता गौतम, गिरबहादुर सार्की, पुष्पा न्यौपाने, हेमा डांगी, बिमला खनाल, प्रमिला चौधरी, करिष्मा बिक, सरिता डांगी, शान्ती चौधरी र लेखराज केसीलगायतले विद्यार्थीहरुको अक्षर सुधारमा विषेश ध्यान दिन आग्रह गरेका छन् । कमजोर विद्यार्थीको बढि ख्याल गर्न, पढ्न, बोल्न, लेख्न र अन्य क्रियाकलापमा जोड दिनपनि आग्रह गरेका छन् ।
जवाफमा विषयगत शिक्षकहरुले कमजोर विद्यार्थीहरुलाई विषेश ध्यान दिएको, पढ्ने, लेख्ने कुरामा चोसो दिने गरेको, दैनिक गृहकार्य दिने र पाठ, योजना तयार गराउन लगाउने गरेको बताएका छन् । विद्यार्थीको शैक्षिक भविष्य उज्वल पार्न आफ्नोतर्फबाट शतप्रतिशत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
अभिभावक शिक्षक र विद्यार्थीको मात्र भर नपरेर आफु पनि जिम्मेवार बन्न शिक्षकहरुले सुझाव दिएका छन् । शिक्षक जमुना घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रावि कोर्डिनेटर अन्जना रिजालले गर्नुभएको हो ।






















