दाङ। दाङमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा ‘सानो खपटे किरा’ (स्मल हाइभ बिटल) देखिएको छ । मौरीपालक किसानका अनुसार मौरीका घारमा खपटे किरा देखिन थालेपछि मौरी कमजोर हुँदै जाने र नष्ट हुन थालेका छन् । यद्यपि दाङमा देखिएको किरा ‘सानो खपटे किरा’ नै हो भन्ने अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भने नभएको मौरीपालक किसानले बताएका छन् ।
अहिले जिल्लामा देखिएको किरा ‘स्मल हाइभ बिटल’ नै हो वा अन्य कुनै किरा हो भन्ने विषय परीक्षणपछि मात्र टुङ्गो लाग्ने भएकाले किसानलाई आत्तिनुभन्दा सम्बन्धित प्राविधिक निकायसँग समन्वय गरेर आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
मौरीमा देखिएको किरा कुन प्रजातिको हो भन्ने पहिचानका लागि कृषि ज्ञान केन्द्र दाङको समन्वयमा नमुना सङ्कलन तथा परीक्षण सुरु भएको छ । किट विकास केन्द्र, मौरी विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काठमाडौंका विज्ञसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर मौरीका घारको अध्ययन तथा अनुसन्धान थालेको हो ।
नेपाल मौरीपालक महासंघ दाङका अध्यक्ष दिनेश वलीले जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा खपटे किरा देखिएको बताउनुभयो । उहाका अनुसार जिल्लामा करिब ३ सय बढी व्यावसायिक मौरीपालक किसान छन् । यसबाहेक थोरै सङ्ख्यामा मौरी पाल्ने कृषकको सङ्ख्या पनि ठुलो रहेको छ ।
दाङमा करिब ३० हजार मौरीका गोला रहेको अध्यक्ष वलीले बताउनुभयो । किसानका अनुसार वर्षायाममा मौरीका लागि प्राकृतिक आहारको उपलब्धता घट्दा मौरीका गोला कमजोर हुने गरेका छन् ।






















