तुलसीपुर । तुलसीपुरमा-१२,कपडादेवीमा रहेकाे महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको छ। कक्षा १२ का विद्यार्थी शिवराज चौधरीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर केसीको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम गरिएकाे हो। बिहिबार ड्रिम्स ब्याङ्क्विड तुलसीपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केसीले नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा स्वागत गर्दै अध्ययनलाई पहिलो प्राथमिकतामा राखेर अनुशासित, लगनशील र जिम्मेवार विद्यार्थी बन्न आग्रह गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँदै सामुदायिक विद्यालयतर्फ आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो।
नयाँ विद्यार्थीहरूको क्षमता र प्रतिभालाई प्रस्फुटन गराउन विद्यालयले आवश्यक वातावरण निर्माण गर्ने उहाँको भनाइ थियो।
त्यसैगरी बिहानी शत्रका सहायक प्रधानाध्यापक पूर्ण भण्डारीले कक्षा ११ बाट विद्यार्थीहरूको उच्च शिक्षातर्फको महत्वपूर्ण यात्रा सुरु हुने भन्दै आफ्नो लक्ष्यप्रति स्पष्ट भएर निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो। विद्यालयमा नयाँ वातावरण र नयाँ साथीहरूसँग घुलमिल हुँदै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो।
दिवा सत्रका सहायक प्रधानाध्यापक शालिकराम केसीले नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै कक्षा ११ को अध्ययनलाई आफ्नो भविष्य निर्माणको महत्वपूर्ण आधारका रूपमा लिन आग्रह गर्नुभयो। विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धि मात्र नभई विद्यालय, परिवार र समाजकै गौरवसँग जोडिने भएकाले मेहनत र लगनशीलताका साथ अघि बढ्न आग्रह गर्नुभयो।
शिक्षक गणेश अधिकारीले विद्यालयमा प्रवेश गरेका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालय केवल पाठ्यपुस्तकको ज्ञान प्राप्त गर्ने स्थान मात्र नभई अनुशासन, संस्कार र व्यवहारिक ज्ञान सिक्ने थलोसमेत भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूले आफ्नो रुचि र क्षमताअनुसार अवसरको सदुपयोग गर्दै विद्यालयको गौरव बढाउने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। विद्यार्थी मनिषा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी आशिष् घिमिरेले गर्नुभएको थियो भने कक्षा ११ का रेश्मा चौधरीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।






















