दाङ । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका ६४ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
कारागारबाट भागेका अधिकांश कैदीबन्दी पुनः नियन्त्रणमा आए पनि ६४ जना अझै फरार रहनुले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ ।
आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट तीनपटक गरी २ सय ५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये १ सय ८८ जना पुनः कारागारमा फर्किएको कारागार कार्यालय तुलसीपुरका जेलर गिरबहादुर सिजुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही कैदीबन्दी आफैँ कारागारमा फर्किएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरी पुनः कारागार ल्याएको थियो । भागेकामध्ये एक जनाको मृत्यु भइसकेको र ६४ जना अझै सम्पर्कविहीन रहेको जेलर सिजुवालले बताउनुभयो । फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको उहाँको भनाइ छ ।
आन्दोलनका क्रममा कारागारबाट बाहिरिएका केही कैदीबन्दी आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भएकाले उनीहरूको खोजी तथा निगरानीलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।
कारागारमा हाल ४ सय २ जना कैदीबन्दी रहेका छन् । जसमा ३ सय ३७ जना पुरुष, ६० जना महिला र ५ जना आश्रित बालबालिका रहेका छन् ।

























