तुलसीपुर । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधर देउवा समूहको तुलसीपुर नगर अधिवेशन बिहीबारदेखि सुरु भएको छ।
ज्येष्ठ सदस्य भरतराज आचार्यको सभापतित्व तथा महाधिवेशन लुम्बिनी प्रदेश संयोजक एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा नगर अधिवेशन सुरु भएको हो।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले भिडले मात्रै कांग्रेस नचल्ने बताउनुभयो। उहाँले सङ्ख्यामा थोरै भए पनि जाँगरिला नेता-कार्यकर्ता नियमित महाधिवेशनको पक्षमा एकै ठाउँमा रहेको बताउनुभयो।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस पदाधिकारीप्रति लक्षित गर्दै गिरीले ‘कहीँ नभएको जात्रा कांग्रेसमा भएको’ टिप्पणी गर्नुभयो। उहाँले कांग्रेसको विधानमा वरिष्ठ उपसभापति पद नै नभएको दाबी गर्दै भागबण्डा नमिलेपछि उक्त पद सिर्जना गरिएको बताउनुभयो।
पदका लागि वरिष्ठ उपसभापति पद सिर्जना भएपछि देउवा समूहमा नेता-कार्यकर्ता जाने सङ्ख्या राेक्ने अस्त्र खडा गरिएकाे हाे ? उहाँले प्रश्न गर्नुभयो, ‘त्यही हो बदलिएको कांग्रेस, अनि सुधारिएको देश?’
गिरीले सङ्ख्यामा थोरै भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै इमानदारी र सत्यका साथ संगठनमा लागे गन्तव्यमा अघि बढ्न सकिने बताउनुभयो।
नेपाली कांग्रेसका केही नेता-कार्यकर्तामा अझै दुविधा देखिएको भन्दै उहाँले ‘रुख जता, त्यतै जाने’ भन्ने कुरा भावनात्मक मात्र भएको बताउनुभयो। ‘रुखले मात्रै हुने भए गगन थापाले सर्लाहीबाट किन हार्नुभयो?’ भन्दै उहाँले पार्टीमा आबद्ध नेता-कार्यकर्तालाई विचलित नहुन आग्रह गर्नुभयो।
बिहीबारदेखि सुरु भएको तुलसीपुर नगर अधिवेशनको बन्दसत्रबाट आजै नयाँ नगर कार्यसमिति चयन गर्ने तयारी रहेको छ। अहिले अधिवेशनमा सहभागी नेता-कार्यकर्ताले आफ्ना धारणा राखिरहेका छन्।



























