२०८३ कार्तिक ११ गते बुधवार

दशैँ मनाउन जन्मथलो फर्किनेको चाप


दाङ । दशैँ पर्व शुरु भएसंगै गाउँ फर्किनेको संख्या बढ्दै गएको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा सहरमा रहेकाहरु गाउँ फर्किन थालेका छन् । गाउँ फर्किने नागरिकको संख्या बढेपछि सार्वजनिक सवारीमा पनि अत्याधिक चाप बढेको छ ।

गाउँबाट बजार आउने सवारीसाधन भन्दापनि बजारबाट गाउँ जाने सार्वजनिक सवारीमा यात्रुको अत्याधिक भिडभाड हुने गरेको छ । तुलसीपुरबाट गाउँ फर्केने यात्रुको चाप पनि अत्याधिक रहेको छ । तुलसीपुरको नयाँ बसपार्क, सल्यान रोड लगायतका ठाउँमा गाडी पर्खिरहेको अत्याधिक भिड हुने गरेको छ ।

तर नजिकै दुरीमा यात्रा गर्ने यात्रुलाई लैजान नमान्ने गरेको यात्रुहरुको गुनासो छ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिस्नेरीका खेमराज रोकाले गाडीका स्टापले नजिकैको यात्रुलाई चढाउन नमान्ने गरेको बताउनुभयो ।

चाडपर्वमा गाउँ फर्किने यात्रुका कारण सार्वजनिक सवारीमा अत्याधिक चाप बढेपछि अत्याधिक सास्ती समेत भएको यात्रुहरुले गुनासो गरेका छन् । गाडी पाउन मुस्कील पर्ने र गाडी पाएपनि सहजै यात्रा गर्न नसकिने अवस्था रहेको बबई गाउँपालिका–७ तिलसरा वलीले बताउनुभयो । कोचाकोचको यात्रा गर्दा दुर्घटनाको जोखिम समेत हुने गरेको उहाँले बताउनुभयो ।

सिट क्षमताभन्दा पनि बढी यात्रु राख्ने गरेका कारण निकै सास्ती पाउनुपरेको सल्यानको कुमाख गाउँपालिका–५ की रेखा पोखरेलले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस