दाङ । तुलसीपुरको सल्यान रोडलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बिरेन्द्रचोकदेखि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालय अगाडिसम्म डिभाइडर राखिएको छ ।
बजार क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सवारी दुर्घटना न्यूनीकरण र लेन अनुशासन कायम गर्न राप्ती लाइफ केयर अस्पतालले १०० थान डिभाइडर सहयोग गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले सडकमा डिभाइडर राख्दा सवारी चालकलाई लेन अनुशासन पालना गर्न सहज हुने बताउनुभयो । अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको डिभाइडरले व्यस्त बजार क्षेत्रमा सवारी आवागमनलाई व्यवस्थित बनाउनुका साथै सडक सुरक्षामा समेत योगदान पुग्ने उहाँले बताउनुभयो ।
राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले बजार क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले डिभाइडर सहयोग गरिएको बताउनुभयो । अस्पतालले उपचार सेवामा मात्र सीमित नभई समुदायको आवश्यकता र हितलाई ध्यानमा राखेर सामाजिक उत्तरदायित्वका कामलाई समेत प्राथमिकता दिँदै आएको बताउनुभयो ।
त्यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीले सडक सुरक्षालाई प्रभावकारी बनाउन डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अस्पतालले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले तुलसीपुरलाई सुन्दर, व्यवस्थित र सुरक्षित सहर बनाउन सरकारी निकाय, निजी क्षेत्र, संघसंस्था र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

राप्ती लाइफ केयर अस्पतालका प्रबन्ध निर्देशक जीवन भण्डारीले दुई लाख रुपैयाँभन्दा बढी लागतमा १०० थान डिभाइडर उपलब्ध गराइएको जानकारी दिनुभयो । सडकलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उहाँले बताउनुभयो ।
सडकमा डिभाइडर राखिएसँगै सवारी चालकले लेन अनुशासन पालना गर्ने, ट्राफिक व्यवस्थापन सहज हुने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।

























