२०८३ कार्तिक १२ गते बिहिवार

भारतबाट नेपालतर्फ सोझिरहेको प्रणालीको असरले बदली शुरु


दाङ। बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले आजदेखि पर्सि शनिवारसम्म वर्षा र हिमपात हुने अनुमान गरिएिको छ । भारतबाट नेपालतर्फ सोझिरहेको प्रणालीको असरले बदली शुरु भएको छ ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम छ । आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि पर्सि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो हावाहुरी चल्ने सम्भावना भने छैन । नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको यो प्रणाली यहाँसम्म आइपुग्दा धेरै कमजोर भैसक्ने उहाँको भनाइ छ ।

आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा शुरु भएर भोलि थप तीव्रताका साथ पानी पर्ने उहाँले जानकारी दिनुभएको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा हुनेछ भने आइतवारदेखि मौसममा सुधार आउनेछ । पर्सि शनिवारसम्म धान नकाट्न, उच्च हिमाली भूभागमा नजान र सुरक्षित ठाउँमा रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरुले सुझाव दिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस