दाङ । दाङमा बिलबिजक नभएका झण्डै ५ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । बिलबिजक नभएका इलेक्ट्रोनिक तथा कस्मेटिक सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कोइलाबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट बिलबिजक नभएका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले मंसिर ८ गते घोराही उपमहानगरपालिका वडा नम्बर १५ कठेकोहलस्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य १ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै दाङ गढवा गाउँपालिका वडा नम्बर ८ मुसीधरस्थित इलाका प्रहरी कार्यालय कोइलाबासबाट खटिएको चेकिङ टोलीले कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका कस्मेटिक सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद कस्मेटिक सामानको अनुमानित मूल्य ३ लाख ३ हजार ५२० रुपैयाँ रहेको छ । प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गरिएका इलेक्ट्रोनिक तथा कस्मेटिक सामानको कुल अनुमानित मूल्य ४ लाख ८४ हजार ५२० रुपैयाँ रहेको छ । बरामद सामान नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


























