दाङ। तुलसीपुरमा बढ्दै गएको जनसंख्यालाई खानेपानीको सहज व्यवस्थापनका लागि सरोकारवालाले चासो दिएका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको दशैँ मिलन शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाले खानेपानीको दीर्घकालिन समाधानका लागि चासो दिएका हुन् ।
सरोकारवालाहरुले बबई लिफ्टीङ सहलगानीको आयोजना सम्पन्न भएपछि केहि सहजता हुने अपेक्षा गरेका छन् । उनिहरुले तुलसीपुरलाई पानीको हाहाकारबाट बचाउनका लागि पातुखोला हाइड्यामको योजना समेत अघि लैजान नेतृत्वलाई सुझाव दिएका छन् ।
त्यस अवसरमा अध्यक्ष यमकान्त भण्डारीले बबई लिफ्टीङ आयोजनाको करिब ७० प्रतिशत बढी काम भइसकेको बताउनुभयो । उहाँले उपभोक्तालाई खानेपानीको असहज हुन नदिने गरी काम गरिरहेको बताउनुभयो । राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले खानेपानी संस्थाले खानेपानी पुर्याउनेमात्रै नभएर उपभोक्तालाई सचेतना पनि बाँड्नुपर्ने बताउनुभयो ।
उहाँले पानीका कारण धेरै रोग लाग्ने भएकाले पानीको प्रयोगबारे सचेतना फैलाउनुपर्ने बताउनुभयो । तुलसीपुर–१२ का अध्यक्ष खुसीराम चौधरीले सहलगानीको आयोजना १२ बाट शुरू भएको बताउनुभयो । उहाँले खानेपानी संस्थाले आवश्यकतालाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले तुलसीपुर बजारमा सार्वजनिक धारा जडान गरेर बाहिरबाट आउने नागरिकलाई सहजता दिनुपर्ने बताउनुभयो । उहाँले तुलसीपुरको अरनिको मैदानमा सार्वजनिक धारा जडान गर्नुपर्ने बताउनुभयो । यस्तै शितलपुर बबई आर्यघाटमा खानेपानीको धारा अत्यन्तै आवश्यक रहेको बताउनुभयो । नौ वटै सिस्टममा टोल फ्रि नम्बर जडान गरेर उपभोक्तालाई सहजता बनाइदिन उहाँले सुझाव दिनुभएको छ ।
कार्यक्रममा जग्गा दाता तथा नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, नेकपा एमाले तुलसीपुर नगर सचिव जितबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन थापा, राष्ट्रिय स्वतन्त्र पाटी तुलसीपुर नगर संयोजक जीवन भण्डारी लगायतले खोनेपानीको दिर्घकालिन समस्या समाधानमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण सचिव भुवन भुषालले गर्नुभएको हो ।















