दाङ । जेनजी आन्दोलनको क्रममा कागजात जलेपछि मालपोत कार्यालय तुलसीपुरले जग्गाको मोठ श्रेष्ता कायम गराउनका लागि सम्बन्धित जग्गाधनिलाई कागजात माग गरेको छ । कार्यालयले सोमबार (असोज २७ गते) देखि जग्गाको मोठ श्रेष्ता कायम गराउन सकिने जनाएको छ ।
कार्यालय प्रमुख खिम बहादुर खड्काका अनुसार जग्गाधनिले आफ्नो जग्गाको श्रेष्ता कायम गराउन सक्कल जग्गाधनि पुर्जा र प्रतिलिपि, नेपाली नागरिकताको सक्कल प्रमाणपत्र र प्रतिलिपि, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिदको सक्कल र प्रतिलिपि र जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको अनुमतिपत्र कागजात पेश गर्नुपर्ने छ ।
उल्लेखित कागजात भएमा एक दिनमै श्रेष्ता कायम गर्न सकिने सूचना अधिकारी शान्तराज गौतमले बताउनुभयो । तर अहिले श्रेष्ता कागज सिमित मात्रै रहेको उहाँको भनाई छ । मालपोत कार्यालयसंग अहिले २ हजारमात्रै श्रेष्ता कागज रहेको सूचना अधिकारी गौतमले बताउनुभयो । उहाँले थप श्रेष्ता कागजको माग भइसकेको तर आउन बाँकी रहेको बताउनुभयो ।
समयमै श्रेस्ता कायम नगर्दा के हुन्छ ?
जग्गाको श्रेष्ता समयमै कायम नगर्दा फर्जि व्यक्तिले किनबेच गर्ने जोखिम हुने धेरैको आशंका हुन्छ, तर त्यस्तो समस्या खासै नहुने सूचना अधिकारी गौतमले बताउनुभयो । ‘धेरैले आफ्नो जग्गाको श्रेष्ता समयै कायम नहुँदा के हुन्छ भनेर सोधिरहनुभएको छ , यसमा ढिलो गर्दा पनि केहि समस्या हुँदैन् । तर जतिसक्दो छिटो गरेमा राम्रो हुन्छ ।’ उहाँले भन्नुभयो–‘अरुको जग्गा मेरो हो भन्दै आउने कुरा हुँदैन,द्वन्द्वकालमा जलेका मोठको अहिलेसम्म पनि श्रेस्ता कायम गराइरहनुभएको छ ।’
















