दाङ । हिमपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ । भारतीय मूलका जर्मनीका नागरिक र नेपाली नागरिकको गएराति हिमपहिरोमा पुरिएर मृत्यु भएको हो ।
सुतिरहेको टेन्टमा माथिबाट आएको हिमपहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुवै जना मकालु एड्भेन्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए । तेस्रो शिविरमा टेन्टभित्रै झन्डै सात फिट हिउँले पुरिएर दुवै जनाको मृतयु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव आज हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी छ ।
यससँगै मनास्लुमा यस याममा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षीय लाउ वी सेङको दोस्रो शिविरमा मृत्यु भएको थियो । साथै नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधार शिविरमा मृत्यु भएको थियो ।
मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणका लागि डोरी टाँग्ने काम सम्पन्न भइसकेको छ । आरोहीहरू आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।

























