दाङ । चुरेभावर पर्वतको काखमा केही घरहरुको सानो बस्ती ।
बस्तीको पुछारबाट निरन्तर बगिरहेको बबई अनि स्याहार्नलाई तयार भएको हिउँदे खेती, त्यहाँ पुग्नेहरुले देख्ने दृष्य हो यो ।
खडेरीमा पनि बारीमा लटरम्म फलेका सिमी, काँक्रा, टमाटरलगायतका बेमौसमी तरकारी खेतीले त झन् मनै लोभ्याउँछ । तुलसीपुर–१४ स्थित बाँकी गाउँ प्राकृतिक विविधताले आफैमा सुन्दर छ तर यहाँका नागरिकले विकासको अनुभूति भने गर्न पाएका छैनन् ।
गतिलो बाटो, नदीमा पुल, समयानुकूल बिजुली बत्तीलगायतका विकासबाट बञ्चित हुँदा बाँकीबासीले अहिले पनि सास्ती खेपिरहेका छन् ।
दैनिक गतिविधिमा जोडिनुपर्ने भूगोलबाट बाँकी गाउँलाई बबई नदीले अलग बनाएको छ । जसले गर्दा यहाँका नागरिकलाई सबैभन्दा पहिला पुलको आवश्यकता छ । पुलकै अभावका कारण केही वर्षअघि भएको कहालीलाग्दो घटना अहिले पनि बाँकीबासीले भुल्न सकेका छैनन् ।
अहिले बाँकी र भोजपुर जोड्नलाई बबई नदीमाथि झोलुंगे पुल बन्दै गर्दा बाँकीबासी असाध्यै खुशी भएको स्थानीय यज्ञबहादुर घर्तीले बताउनुभयो । ‘केही वर्षअघिको कुरा हो, गाउँको एकजनालाई सर्पले डस्यो । बबईमा बाढी उर्लिएको थियो । पुल नभएकोले तर्न सकिएन । औषधि नै नपाएर उनको मृत्यु भएको थियो ।
ती दिन सम्झदा त अझै पनि हामी कुन युगमा छौं भन्ने लाग्छ’– उहाँले भन्नुभयो– ‘पछि मटेरामा पक्की पुल बनेपछि केही सहज त भएको थियो तर त्यो पनि टाढा हुँदा यहाँको उत्पादन बजारमा पुर्याउन पनि उस्तै दुःख छ । अहिले बाँकी र भोजपुर जोड्ने पुल बन्न थालेको छ, यसले धेरै सहज हुने आशा गरेका छौं ।’
बाँकी गाउँमा करिब २० घर धुरी छन् । अधिकांश नागरिक कृषि पेशामा निर्भर छन् तर गाउँको पुछारबाट बग्ने बबई उनीहरुको खेतीमा सिंचाईको सहारा बन्दैन, समस्या निम्त्याउने मात्रै हो । पर्याप्त भोल्टेजको विद्युत सेवा नहुँदा बाँकीबासीको झक्क उज्यालो हुने बत्ती बाल्ने सपना अधुरै छ ।

बबईबाट लिफ्टिङ गरेर सिंचाइं सुविधा सहज बनाउने उनीहरुको सपना कहिले पूरा होला ? ‘बबईका कारण हामीले धेरै सास्ती खेपेका छौं तर कुनै पनि काममा उपयोग गर्न सकेका छैनौं । कम्तिमा यहाँको बिजुली राम्रो भइदिए र सरकारले सहयोग गर्ने हो भने यहाँका किसानले सहजै सिंचाई सुविधा पाउने थिए’– स्थानीय टोपली घर्तीले भन्नुभयो– ‘न गतिलो बाटो छ, न पुल छ । यहाँका किसानले उब्जाएको बाली र तरकारी बजार पुर्याउन पनि उस्तै धौ छ । पछिल्लो समय धेरै कुराहरु परिवर्तन भए तर बाँकीबासीका दुःख जस्ताका तस्तै छन् ।’
सबैजसो गतिविधिमा नदी पारि नै जोडिनुपर्ने तर भौतिक विकासको अभावका कारण समस्यै समस्या । उसो त गाउँदेखि १० मिनेटको बाटो पार गरेपछि पक्की सडकसँग जोडिन पाउँछन् बाँकीबासी तर वर्षामा बाढी आउँदा भने उनीहरुलाई त्यही पक्कीबाट पनि कोशौं टाढा भइदिन्छ ।
त्यस्तै गाउँसम्म पुग्न सडकको ट्रयाक खुले पनि वर्षायाममा हिलाम्मे हुँदा समस्या हुने गरेको स्थानीय दिलमाया घर्तीले बताउनुभयो । ‘नजिकको विद्यालय भोजपुरमा छ । पुल नभएकै कारण वर्षायाममा बबईमा बाढी आउँदा हाम्रा छोराछोरीहरु विद्यालय जान पाउँदैनन्’– उहाँले भन्नुभयो– ‘पुल त बन्दैछ तर गाउँको बाटोको अवस्था पनि उस्तै छ, वर्षाको समयमा हिलाम्य हुन्छ । यसको पनि स्तरोन्नति भए धेरै सहज हुने थियो ।’
बाँ‘की गाउँको समस्याबारे आफू जानकार भएको भन्दै त्यसको स्तरोन्नतिका लागि आफूले स्थानीयहरुसँग छलफल गरिसकेको वडाध्यक्ष शंकरकुमार खड्काले बताउनुभयो ।
‘बाँकीबासीलाई ठूलो दुःख पुलको भएको थियो । अहिले पुल बन्दैछ, यसले एउटा समस्या समाधान हुँदैछ । अर्को गाउँको सडकको हो । त्यसको स्तरोन्नतिका लागि स्थानीयहरुलाई बाटो फराकिलो बनाउन सहमति गरेर आउनुस् भनेको छु’– उहाँले भन्नुभयो– ‘वडाभित्र भएका यस्ता समस्या समाधानका लागि वडा सरकार तयार छ तर पहिला स्थानीयहरुमा विकास गर्ने इच्छाशक्ति हुनुपर्छ । उहाँहरुले बाटो फराकिलो बनाउने सहमति गरेर आएपछि तत्कालै बाटो पराकिलो बनाएर ग्राभेल गर्ने काम हुन्छ ।’














