दाङ। नेपाली कांग्रेसका नेता बिमल रिजालले पार्टीबाट राजीनामा दिएपछि कांग्रेसभित्र ठूलो हलचल पैदा भएको छ ।
रिजालको राजीनामा सार्वजनिक भएलगत्तै पार्टीका अन्य नेताहरूले सामाजिक सञ्जालमार्फत फरक–फरक प्रतिक्रिया दिइरहेका छन् । जसले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र वैचारिक मतभेदलाई सतहमा ल्याइदिएको छ ।
कांग्रेस नेता घनश्याम ढकालले रिजालको कदमप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गर्नुभएको छ। उहाँले लेख्नुभएको छ–‘कांग्रेस बनाउन कांग्रेस बन्नु र कांग्रेस बलियो देखेर कांग्रेसमा लाग्नु धेरै फरक छ ।’ ढकालको यो भनाइले पार्टी संकटमा पर्दा साथ छोड्नेहरू अवसरवादी भएको र निष्ठावान् कार्यकर्ता सधैँ पार्टी निर्माणमा लाग्ने आशय व्यक्त गरेको छ ।
अर्का नेता अरुण लहरेले रिजालको निर्णयलाई ‘अपरिपक्व’ भन्दै भावनात्मक असन्तुष्टि पोख्नुभएको छ । लहरेले सामाजिक सञ्जालमा लेख्नुभएको छ : ‘धेरै मतभेद हुन सक्छन्, तर हामी कांग्रेसमै बसेर लड्ने हो दाइ । सुख–दुःख सँगै बाँड्दा नै राम्रो हुन्थ्यो । पार्टी नै छोड्ने निर्णय ठीक भएन जस्तो लाग्यो ।’
लहरेले रिजाल पार्टीमा रहँदा वा बाहिरिँदा आफ्नो व्यक्तिगत लाभ–हानि केही नभए पनि उहाँलाई साथ दिने कार्यकर्ताहरू आज निराश भएको उल्लेख गर्नुभएको छ ।
पार्टीको जिम्मेवार तहमा रहेका व्यक्तिले राजीनामा दिँदा र त्यसमाथि अन्य नेताहरूको सार्वजनिक टिप्पणीले दाङ कांग्रेसको आन्तरिक व्यवस्थापनमा चुनौती थपिएको छ ।
तुलसीपुर क्षेत्रका प्रतिष्ठित व्यवसायी समेत रहेका नेता रिजाल तुलसीपुर ५ निवासी हुनुहुन्छ ।
तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका रिजालले पाटीको क्रियाशिल सदस्यमा रही काम गर्दै आएको उल्लेख गर्दै संगठनको सम्पुर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।
व्यक्तिगत व्यवसायीक कारण देखाउदै उहाले नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सभापतिलाई सम्वोधन गरी यहि बैशाख १६ गते लेखेको पत्रमा पाटीको क्रियाशिल सदस्यता नरहने गरी अलग भएको उल्लेख गर्नुभएको छ ।
उहाले पाटीमा रहदा सम्म सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।















