दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा आसन्न निर्वाचनको सरगर्मी उत्कर्षमा पुगेको छ । विगतका निर्वाचनहरूलाई फर्केर हेर्दा यस क्षेत्रका मतदाताले कुनै पनि दल वा नेतालाई लगातार अवसर दिएका छैनन् ।
यस क्षेत्रमा २०७४ र २०७९ प्रतिनिधि सभाको निर्वाचनलाई विश्लेषण गर्दा दुई वटै निर्वाचनमा फरक–फरक उमेदवार निर्वाचित गराएको देखिएको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका हिराचन्द्र केसीलाई ४० हजार २८७ मत दिएर विजयी गराएका यहाँका मतदाताले २०७९ सालमा भने आफ्नो मत बदलेका थिए ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दिपक गिरी ३६ हजार ९११ मतसहित निर्वाचित हुनुभएको थियो । यसपटकको चुनावी प्रतिस्पर्धामा भने पुराना दलहरूलाई आफ्नो विरासत जोगाउन निकै कडा संघर्ष गर्नुपर्ने देखिएको छ ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेसबाट पुनः दिपक गिरी चुनावी मैदानमा हुनुहुन्छ । तर, कांग्रेसभित्रको आन्तरिक कलह र पछिल्लो समय नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको जनलहरले गिरीका लागि विजयको बाटो चुनौतीपूर्ण छ ।
गिरी लगातार दोहोरिएकाले पनि कतिपय नेता कार्यकर्तालाई चित्त बुझेको छैन् । गिरीप्रतिको असन्तुष्टी कांग्रेस नेताहरुले सार्वजनिक कार्यक्रममै पोखेको देखिन्छ । गिरीले यसअघि प्राप्त गरेको मतलाई मात्रै सुरक्षित गर्न सके पनि चुनाव जित्ने विश्लेषण गरिन्छ । तर कांग्रेसभित्रै आन्तरिक विवाद, पछिल्लो समय पाटीप्रति खस्कदो जनलहर जस्ता कारणले यसपटक जितका लागि गिरीले ठुलै संघर्ष गर्नुपर्ने देखिएको छ ।
अर्कोतर्फ, नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेलाई अघि सारेको छ । पाण्डे अनुभवले खारिएको र भिजन भएका नेताको रुपमा पनि परिचित हुनुहुन्छ ।
नगरप्रमुख हुँदा गरेका विकास निर्माणका कामले पाण्डेको पक्षमा केही सकारात्मक माहोल देखिए पनि समग्रमा एमालेप्रतिको खस्कँदो आकर्षण र मतदातामा देखिएको आक्रोश उहाँका लागि मुख्य तगारो बनेको छ । एमालेभित्रैकै नेताहरुले समेत केन्द्रको नेतृत्वको कार्यशैलीकै कारण पाण्डेलाई चुनौति बन्ने बताउँछन् ।
पछिल्लो समय नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी उम्मेदवार हुनुहुन्छ । गत निर्वाचनमा १५ हजार ३२६ मत प्राप्त गर्नुभएका सुवेदीलाई यसपटक जित निकाल्न अघिल्लो मतभन्दा दोब्बर धेरै मत आवश्यक पर्छ । पाटीप्रतिको देखिएको जनलहर र पुराना पाटीका नेताहरुप्रतिको वितृष्णाले सुवेदीले यसपटक सजिलै मत पाउने देखिन्छ । तर अघिल्लो निर्वाचनपछि सुवेदी जनताको माझमा नफर्किएको भन्ने गुनासो मतदातामाझ व्याप्त छ ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट धनबहादुर मास्की पनि सशक्त उम्मेदवारका रूपमा देखिनुभएको छ । पश्चिम क्षेत्रमा गरेका काम र सरल नेताकोरुपमा परिचित मास्कीलाई मत बटुल्न सहज देखिन्छ । तर कमजोर संगठन र प्रदेश सभा सदस्यको कार्यकाल पूरा नगरी प्रतिनिधि सभामा उम्मेदवारी दिएका कारण उहाँप्रति मतदाताको पूर्ण विश्वास जुट्न कठिन देखिएको छ ।
दाङ ३ मा यसपटक कुल २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तर, मुख्य प्रतिस्पर्धा भने पुराना स्थापित दल र नयाँ उदाउँदै गरेको शक्तिबीच नै हुने निश्चित छ । फेरिँदो राजनीतिक परिवेश र मतदाताको बदलिँदो मुडका कारण आगामी फागुन २१ गते हुने निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्ने कुरा निकै रोचक र अनपेक्षित हुने अनुमान गरिएको छ ।















