२०८३ बैशाख १३ गते आइतवार

दाङ–२ मा मतगणना अन्तिम चरणमा, रास्वपाका आचार्य २६ हजार बढी मतले अगाडि


दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर २ को मतगणना अन्तिम चरणमा पुगेको छ । अब सो क्षेत्रमा ४ हजार ७०५ मत मात्र गणना गर्न बाँकी रहेको छ ।

दाङमा कुल ८२ हजार ६३३ मत खसेकोमा अहिलेसम्म ७७ हजार ९ सय २८ मत गणना भइसकेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।

हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन कुमार आचार्य २६ हजार ३ सय ७८ मतको अग्रतासहित पहिलो स्थानमा हुनुहुन्छ । आचार्यले ४० हजार ९ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शंकर पोख्रेलले १४ हजार ६ सय २० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार १ सय १७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका निर्मल आचार्यले ६ हजार ७ सय ३५ मत ल्याउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ऋषि केश पोख्रेलले ७ सय १७ मत प्राप्त गर्नुभएको छ ।

दाङ क्षेत्र नम्बर २ मा कुल १ लाख ४० हजार ९ सय ६५ मतदाता रहेकामा ८२ हजार ६३३ मत खसेको थियो । जसमा ३६ हजार १ सय १९ जना पुरुष र ४५ हजार ५ सय ७ जना महिला मतदाताले मतदान गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस