२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङ–३ मा मतगणना अन्तिम चरणमा, रास्वपाका सुवेदी २६ हजार बढी मतले अगाडि


दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को मतगणना अन्तिम चरणमा पुगेको छ । अब सो क्षेत्रमा ७ हजार मत मात्र गणना गर्न बाँकी रहेको छ ।

दाङ–३ मा कुल ८९ हजार ५ सय २७ मत खसेकोमा अहिलेसम्म ८२ हजार ५ सय २७ मत गणना भइसकेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।

हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदी २६ हजार ३ सय ८९ मतको अग्रतासहित पहिलो स्थानमा हुनुहुन्छ । सुवेदीले ४१ हजार ३ सय ४१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले १४ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमालेका घनश्याम पाण्डेले ११ हजार ४ सय ८४ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका धन बहादुर मास्कीले ८ हजार ६ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राप्रपाका दामोदर भण्डारीले १हजार १५, नेकपा माओवादीका बल बहादुर ओलीले ४ सय ९, जनमोर्चाका कमला जीसीले १ सय ७१, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराले २ सय १८ मत प्राप्त गर्नुभएको छ ।

८२ हजार ५ सय २७ मत गणना हुँदा ३ हजार ५ सय ५६ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।

दाङ क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० कुल मतदाता रहेकोमा ८९ हजार ५२७ मत खसेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस