२०८३ बैशाख १६ गते बुधवार

दाङका १७ उम्मेदवारले गरे निर्वाचन खर्च विवरण सार्वजनिक, कांग्रेसका चौधरीको सबैभन्दा धेरै


दाङ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा दाङबाट उम्मेदवार बनेका मुख्य प्रतिस्पर्धीमध्ये १७ जना उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । दाङका तीन वटा निर्वाचन क्षेत्रमा जम्मा ६० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा हालसम्म १७ जनाले मात्रै खर्च विवरण बुझाएका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि उम्मेदवारहरूले कानुनअनुसार निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्रबहादुर कँवरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म बुझाइएका विवरणहरू निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रहेका छन् ।

अहिलेसम्म बुझाइएका विवरणअनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले सबैभन्दा बढी खर्च गरेको देखिएको छ । उहाँले ३० लाख रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएको छ । दोस्रोमा एमालेका घनश्याम पाण्डेले २४ लाख, तेस्रोमा कांग्रेसमा किरणकिशोर घिमिरेले २० लाख र चौथोमा नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले १९ लाख खर्च गरेको विवरण पेश गरेको सूचना अधिकारी कँवरले जानकारी दिनुभयो ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीले ३० लाख रुपैयाँ खर्च गरेको विवरण बुझाउनुभएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले ६ लाख ४४ हजार, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्यले ३ लाख ३ हजार, नेपाली कम्युनिष्ट पार्टी(माओवादी) का प्रकाश शाहीले ६ लाख ३ हजार २५ रुपैयाँ खर्च भएको विवरण दिएको सूचना अधिकारी कँवरले जानकारी दिनुभयो ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका भरतलाल चौधरीले ४ लाख २७ हजार ५ सय र राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरीले १ लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्यले १६ लाख २९ हजार ५ सय ६२, नेकपा (एमाले) का शंकर पोखरेलले १७ लाख ५० हजार रुपैंया खर्च भएको विवरण पेश गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका किरण किशोर घिमिरेले २० लाख ९७ हजार २२ रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले १९ लाख ४ हजार, नेपाल मजदुर किसान पार्टीका नविनकुमार शाहीले शून्य खर्च देखाउनुभएको छ । स्वतन्त्र उम्मेदवार धर्मराज शर्माले १ लाख २२ हजार ४ सय ५५, कल्पना लामाले २ लाख १३ हजार र बालाराम पौडेलले २ लाख ६६ हजार रुपैयाँ खर्च भएको विवरण दिएको सूचना अधिकारी कँवरले बताउनुभयो ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका घनश्याम पाण्डेको २४ लाख ६७ हजार २९६, नेपाली कम्युनिष्ट पार्टी(माओवादी) का बल बहादुर ओलीको ६ लाख ३५ हजार ३ सय, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराको ३१ हजार रुपैंया खर्च भएको विवरण बुझाउनुभएको छ ।

निर्वाचन ऐन २०७४ को दफा ७२ अनुसार उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस