दाङ । महिला हिंसा न्यूनीकरण र महिला सशक्तीकरणका लागि तुलसीपुर महिलाहरुलाई कानुनी ज्ञान प्रदान गरिएको छ । तुलसीपुर नगर जेसिजको आयोजनामा आइतबार तुलसीपुर–५ सम्झना टोल र आसपासका महिलाहरूलाई कानुनी सचेतना प्रदान गरिएको हो ।
कार्यक्रममा सहभागी महिलाहरूलाई प्रशिक्षण दिँदै वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कानुनी अज्ञानताका कारण धेरै महिलाहरूले हिंसा सहेर बस्नुपरेको बताउनुभयो । उहाँले घरेलु हिंसा, कार्यस्थलमा हुने दुर्व्यवहार र महिलाका संवैधानिक अधिकारबारे जानकारी गराउँदै कानुनी उपचारका मार्गहरूका बारेमा स्पष्ट पार्नुभयो ।
आफूमाथि भएको अन्याय हिंसा हो कि होइन भन्ने छुट्याउन र त्यसका विरुद्ध आवाज उठाउन कानुनी ज्ञानले आत्मबल प्रदान गर्ने अधिवक्ता धितालले बताउनुभयो ।
कार्यक्रममा उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्षद्वय झरेन्द्र खरेल र मेघराज घिमिरेले पनि प्रशिक्षण दिनुभएको हो ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्माले एक जना महिला सचेत हुनु भनेको पूरै परिवार र टोल नै सुरक्षित हुने भएकाले महिलालाई कानुनी साक्षरता प्रदान गरिएको बताउनुभयो । कानुनी सचेतनाले हिंसामुक्त समाज निर्माणमा इँटा थप्ने उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले कार्यक्रमले स्थानीय स्तरमा कानुनी साक्षरता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्माको अध्यक्षता तथा नगर उपप्रमुख चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण महासचिव झग्गु प्रसाद सापकोटाले गर्नुभएको हो ।















