
दाङ । दाङसहित तराईका जिल्लामा गर्मी बढेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सीयस पुगेको छ ।
गर्मी बढेसंगै जनजीवन कष्टकर बन्दै गएको छ । चर्को घाम लाग्ने, तातो हावा क्रम चलिरहेको छ । उखरमाउलो गर्मीका कारण दैनिकी प्रभावित हुन थालेको हो । विशेष गरी वृद्धवृद्धा, सुत्केरी, बालबालिका र बिरामीहरूलाई तातोले धेरै असर गरेको देखिएको छ ।
डाक्टरका अनुसार अत्यधिक गर्मीका कारण पानीको कमी, अत्यधिक पसिना, शरीर कमजोर हुने, टाउको दुख्ने र झाडापखालाजस्ता लक्षण देखिने गरेका छन् ।
उखरमाउलो गर्मीका कारण बाहिर काम गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित छन् । यसैबिच स्वास्थ्यकर्मीहरूले यस्तो मौसममा अत्यधिक सावधानी अपनाउन सुझाव दिएका छन् ।
उनीहरूका अनुसार नियमित रूपमा पानी पिउनु, फलफूल तथा झोलिलो पदार्थ खानु, छायाँमा बस्नु र घाममा सिधै ननिस्कनु नै सबैभन्दा उत्तम उपाय हो । मौसम पूर्वानुमान महाशाखाले दाङलगायत तराईका धेरैजसो जिल्लामा केही दिन अझै तापक्रम उच्च रहने जनाएको छ ।