तुलसीपुरदेखि घोराहीसम्म,
लमही, भालुवाङ हाइसभित्र टम्म।
जानु पर्नेछ स्वर्गद्वारी महाँ,
प्रभु महाराजको आश्रम छ जहाँ।
४८ जनाको हाम्रो ठूलो जथ्था,
सबैजना मेरै बराईको सथ्था।
तीन जना मात्रै थिए साना बालक,
तीनवटा हाइसका तीनवटै चालक।
१७–१७ जनाको टोलियो हाम्रो,
साथी छुट्दा क्षणभर भयो नराम्रो।
हामी जेठ, के चाहियो ककारी?
“मिली बसौँ” भन्ने बन्यो मनको सकारी।
स्वास्थ्यकर्मी चित्र ओली थिए साथ,
स्वास्थ्यका ज्ञाता, बोलीमा जादु नाथ।
मुखमा औषधि, नाभिमा प्लास्टर,
रोकियो पेट दुखाइ, बन्द भयो ब्लास्टर।
जसै गाडी कुद्यो, मन भयो हरर,
हावाले थप्यो यात्रा सरर।
घडीको सुई पुग्यो ११ सवा,
खाना खान झर्यौं होटल पौवा।
प्युठानको बड्डाडा, देवीथान झर्यौं,
चकचके गोठीबाङ, नयाँ गाउँ गर्यौं।
भिङ्री पुग्दा रमाइलो ठाउँ,
बीचबीचमा छुटे सानासाना गाउँ।
गर्यौं चियापान, लियौं विश्राम,
उकालो चढ्यौं पुग्न आश्रम।
घुम्ती धेरै, उकालो कडा,
हाइसले थाम्न सकेन ती पाँडा।
झर्यौं गाडीबाट, लियौं सास लामो,
बदाम, जुस र फ्रुटी खायौं हामी राम्ररी थामो।
धरमपानी झर्यौं, मन भयो शीतल,
हावाले स्पर्श गरी बनायो जीवन निर्मल।
त्यसपछि सुरु भयो पैदल यात्रा,
सिँढी चढ्दा लाग्थ्यो गाह्रो जात्रा।
पाँच सय असी सिँढी गनियो,
“जय प्रभु महाराज!” भन्दै हिडियो।
गौमाताको दर्शन, गुफा अवलोकन,
चट्टानसँग घर्षण, अनुभव अनुपम।
धरमशालामा भयो रातको बास,
भक्तजनको लागी मिल्यो राम्रो प्रयास।
शनिबार बिहानै सबै उठ्यौं,
नृत्य र पूजामा मन दिई जुट्यौं।
प्रभुको आशीर्वाद, टिका र प्रसाद,
मनमा शान्ति, अनुहारमा उज्यालो स्वाद।
मादल, खैजडी साथ लियौं महाँ,
भजन किर्तन भयो जहाँ।
जागेश्वरको स्वरमा चुट्का भजन,
सबै नाच्यौं, गयो बोरपना फजन।
फोटो सेसन चारैतिर भयो,
प्रभुको चरणमा शिर झुकायौं।
धरमपानी झर्यौं, साथीभाइ कुर्दा,
ताजा काफलले फेरि दियो उर्जा।
भिङ्री बजार झर्यौं, खोज्यौं होटल,
पौवामा आमाबुवासँग खायौं स्वादिष्ट भोजन सकल।
जब जखेरा गाउँ पुग्यौं हामी,
ठूलो ताल, रमणीय थामी।
डुङ्गा चढ्यौं, फोटो सेसन गर्यौं,
चिसो खायौं, मन रमायो, हर्षले भर्यौं।
सबै ठीक थियो, रमाइलो साथ,
तर बिजौरीमा भयो घट्ना अनाथ।
पछाडिबाट गाडीले ठोक्यो ढर्याम,
हाम्रो गाडीको सिसा झर्यो झर्याम।
सिटको फलामले लाग्यो दुखाइ,
टाउकोमा बज्रियो चोटको छायाँ।
उपचार गर्यौं, चोट त सामान्य,
केहीलाई लाग्यो असामान्य।
तर बाँच्यौं हामी सबै,
प्रभुप्रति समर्पण गयो खेर कहिले नजन्मै।
विशेष धन्यवाद
तुलसीपुर उपमहानगरपालिकाका मेयर, उपमेयर, सम्पूर्ण कार्यपालिका परिवार, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, लेखा संयोजक पदम ज्ञवाली र पुष्प शर्मा प्रति हार्दिक धन्यवाद
पदम, पुष्पा र माया मायालु नानी,
दयाकी खानी, हेरचाह गर्यौ तनमन लगाई।
हामी सबैको आशिष रहोस् तिमीलाई।
टेकेन्द्रराज भट्टराई
तुलसीपुर–१०, जागृति टोल, बनगाउँ
जेष्ठ नागरिक संघ, तुलसीपुर नगर सदस्य
तुलसीपुर उपमहानगरपालिकाको कार्यालय महिला बालबालिका तथा सामाजिक विकास शाखाद्वारा २०८२ बैशाख २६ र २७ गते प्युठानको स्वर्गद्वारीमा गरिएको तिर्थ यात्राको कवितामय प्रतिवेदन ।













