दाङ । नेपाल बैंक लिमिटेड दाङ शाखाले ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले घोराहीमा एकैसाथ दुई वटा नयाँ एटीएम मेशिन सञ्चालनमा ल्याएको छ ।
बैंकले हरिशयनी एकादशीको अवसर पारेर शनिबार घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुर एक्सटेन्सन काउन्टर र दीपशिखा रोडमा नयाँ एटीएम सेवा विस्तार गरेको हो ।
यी दुई नयाँ एटीएम थपिएसँगै घोराही बजार क्षेत्रमा मात्रै नेपाल बैंकको एटीएम संख्या ३ पुगेको बैंकका घोराही शाखा प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो । बैंकले आफ्नो सेवालाई थप प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउँदै लैजाने क्रममा सेवा विस्तार गरेको उहाँले बताउनुभयो । यसअघि बैंकको मुख्य शाखाबाट मात्रै एटीएम सेवा उपलब्ध हुँदै आएको थियो ।
स्थानीय बुद्धिजीवी, टोल विकास संस्थाका पदाधिकारी, पत्रकार, बैंकका पूर्व तथा कार्यरत कर्मचारी र स्थानीय जनसमुदायको उपस्थितिमा दुवै एटीएमको समुद्घाटन गरिएको हो ।
दीपशिखा रोड र भरतपुर क्षेत्रमा नयाँ एटीएम सञ्चालनमा आएपछि अब स्थानीय व्यापारी, सर्वसाधारण तथा सेवाग्राहीहरूलाई नगद कारोबारका लागि बैंकको मुख्य शाखासम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।



















