दाङ। तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारी अघि बढेको छ । उपमहानगरलाई बालबालिकामैत्री नगर बनाउन आवश्यक नीतिहरू कार्यान्वयन गर्ने र आवश्यक संरचना विकास गर्ने प्रक्रिया अघि बढेको हो ।
बालमैत्री नगर बनाउन आवश्यक तयारीका लागि मंगलबार तुलसीपुरमा सरोकारवालासंग छलफल कार्यक्रम समेत गरिएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरले कार्ययोजना, विषयगत सवालमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूले बालअधिकार संरक्षणमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी बालबालिका, शिक्षक, जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक अभियन्ता र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूले बालमैत्री संरचना, शिक्षा, स्वास्थ्य, सुरक्षा, मनोरञ्जन लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बालमैत्री नगर बनाउने अभियानमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले बालबालिकाको हितमा कुनै पनि काम गर्न नगरले आवश्यक नीति, कार्यक्रम र बजेट विनियोजन गर्ने बताउनुभयो ।
कार्यक्रममा बालविज्ञ दुर्गालाल केसीले बालमैत्री स्थानीय शासनका मापदण्ड, लक्ष्य र सूचकहरूबारे जानकारी गराउनुभयो । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरका अध्यक्ष नवराज लामिछानेले तुलसीपुरलाई बालमैत्री नगर बनाउनको लागि कार्ययोजना बनाई चरणबद्ध रूपमा अघि बढेको बताउनुभयो । उहाँले बालमैत्री नगर बनाउनका लागि विभिन्न ५१ वटा सूचक पूरा गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले नगरका ५ वटा वडा बालश्रममुक्त भइसकेको र अन्य वडालाई बालश्रममुक्त घोषणा गर्ने तयारी रहेको बताउनुभयो । उहाँले तुलसीपुरलाई बालमैत्री नगर बनाउनका लागि बालश्रममुक्त पनि हुनपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका गिरीराज पाण्डे, गैरसरकारी संस्था महासंघ दाङका अध्यक्ष भागीराम चौधरीले बालमैत्री नगरका लागि घरपरिवार, समाज र राज्य सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
केन्द्रका उपाध्यक्ष दिप्तीशिखा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा युवा नेता सुरेश रावत, दलित अधिकारकर्मी युवा करारा, ईलाका प्रहरी कार्यालय तुलसीपुरका भरतनाथ योगी, समाजसेवी रामबहादुर जिसी लगायतले बालअधिकार रक्षाका लागि घरपरिवारलाई जिम्मेवार बनाउनुुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण महासचिव नानीमैया केसीले गर्नुभएको हो ।














