दाङ । विद्यार्थीलाई सुरक्षित खानपान, खाद्य स्वच्छता र उपभोक्ता अधिकारबारे सचेत गराउने उद्देश्यले दाङको तुलसीपुरमा विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को समन्वय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको सहजीकरण तथा तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापन शाखाको आयोजनामा विद्यार्थीलाई सचेतना प्रदान कार्यक्रम गरिएको हो ।
मंगलबार तुलसीपुर–१ भ्युडहर सुनपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत करिब ८९ जना विद्यार्थीलाई अभिमुखीकरण गरिएको छ ।
वडा अध्यक्ष हुमकान्त सापकोटाको अध्यक्षता तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, खाद्य निरीक्षक सुदर्शन गोसाईं, तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसी, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर केसी र वडा नम्बर १ का सचिव होमजंग विश्वकर्माले विद्यार्थीलाई प्रशिक्षण गर्नुभएको हो ।
अभिमुखीकरणका क्रममा विद्यार्थीलाई दैनिक खानपानमा अपनाउनुपर्ने सावधानी, खाद्य पदार्थको स्वच्छता, प्याकेटमा राखिएका खाद्य वस्तु खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति जाँच गर्ने तरिका र उपभोक्ताका रूपमा अपनाउनुपर्ने सचेतनाबारे जानकारी गराइएको छ । यस्तै पत्रु खानाले मानव स्वास्थ्यमा पार्न सक्ने असर र सुरक्षित खाद्य पदार्थ छनोट गर्ने उपायबारे समेत प्रशिक्षण दिइएको छ । कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण शाखाका वरिष्ठ प्रशासन सहायक खेमकान्त पाण्डेले गर्नुभएको हो ।


























