दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउन सरोकारवालासंगकाे छलफललाई तिव्र पारिएको छ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजनामा साेमबार शिक्षा,स्वास्थ्य तथा सञ्चार क्षेत्रका सरोकारवालासंग छलफल गरिएको हाे ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम पि न्याैपानेले तुलसीपुरलाई बालमैत्री नगर निर्माणका लागि
परिवार,समाज र राज्यले अपनत्व लिनुपर्ने बताउनुभयाे ।
लुम्बिनी प्रदेशका बालबालिकामा कुपोषणकाे अवस्था १६ प्रतिशत अर्थात आपतकालकाे अवस्था रहेकाले त्यसकाे असर तुलसीपुरमा पनि पर्न सक्ने भएकाले स्वास्थ्यका आवश्यक सूचक पुरा गर्ने गरि याेजनाबद्ध रूपमा काम गरिरहेकाे बताउनुभयाे ।
महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले तुलसीपुरलाई बालमैत्री नगर घोषणाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले बालमैत्री नगर निर्माणका लागि अहिले विभिन्न सरोकारवालासंग छलफल, समन्वय गरिरहेको समेत बताउनुभयो ।
३१ वर्षदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै आउनुभएका नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरका अध्यक्ष नवराज लामीछानेले बालमैत्री नगर घाेषणाका लागि विभिन्न चरणमा सराेकारवालासंग छलफल तथा सुझाव संकलन गर्ने काम भएकाे बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक तथा बालविज्ञ दुर्गालाल केसीले बालबालिकाको समग्र नेतृत्व विकास तथा व्यक्तित्व निर्माणका लागि बालमैत्री स्थानीय शासन आवश्यक रहेको बताउनुभयो।
महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि सबै तहका सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो।
यस्तै प्याव्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि तोकिएका सूचक पूरा गर्ने दिशामा निजी विद्यालयहरू तयार रहेको बताउनुभयो। ।
यस्तै मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, गुरुजुर माविका प्रधानाध्यापक विष्णुकुमारी न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले बालमैत्री नगर बनाउनका लागि बालअधिकार संरक्षणमा विशेष जोड दिँदै श्रम शोषण र दुर्व्यवहारको अन्त्य गरि बालमैत्री पालिका निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमकाे सहजिकरणनवजागरण महिला तथा बाल संरक्षण केन्द्रका महासचिव नानी मैया केसीले गर्नुभएको हो।













