दाङ । दाङको तुलसीपुर र सल्यानको लुहाम जोड्ने डाँडाकुटी–बल्ले सडक चिराचिरा परेपछि यात्रु तथा सवारी चालकलाई आवतजावतमा सास्ती भएको छ । सडकमा ठाउँठाउँमा चिरा पर्दा विशेषगरी साना सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ ।
स्थानीय प्रेमविवश आले मगरले सडकको अवस्थाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मर्मतमा स्थानीय सरकारले चासो नदिएको गुनासो गर्नुभएको छ । उहाँका अनुसार सडक मर्मतका लागि पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाउँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।
चाडपर्वका बेला यात्रु तथा सवारीसाधनको आवतजावत बढ्ने समयमा सडकको अवस्था बिग्रिँदा यात्रा थप जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ । सडकमा परेको चिराका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै यात्रुहरूलाई समेत असहज भएको छ ।
डाँडाकुटी–बल्ले सडक राप्ती राजमार्गको वैकल्पिक सडकका रूपमा समेत प्रयोग हुँदै आएको छ । तर, सडकको स्तरोन्नति तथा नियमित मर्मतसम्भार हुन नसक्दा वर्षायाममा यस सडकबाट आवतजावत गर्न झनै समस्या हुने गरेको छ ।
स्थानीयवासीले सडकको अवस्था सुधार गर्न र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय सरकारसँग माग गरेका छन् ।


























