२०८३ कार्तिक ६ गते शुक्रवार

दसैँ सकिएसँगै धानबाली भित्र्याउन किसानहरुलाई चटारो


दाङ । दसैँको रमझम सकिएसँगै दाङका किसान धान भित्र्याउन व्यस्त बनेका छन् । दसैँ मनाउन व्यस्त किसान अहिले खेतमा धान काट्ने, खल्यानसम्म ओसार्ने र थ्रेसर लगाएर घरमा भित्र्याउने काममा जुटेका छन् ।

दंगीशरण गाउँपालिका –३ हेकुलीका भरत चौधरी दसैँ सकिएलगत्तै धान स्याहार्न व्यस्त हुनुहुन्छ । खेतमा पाकेको धान काटेर समयमै घरमा भित्र्याउनुपर्ने भएकाले उहाँलाई अहिले फुर्सद छैन । वर्षभरि परिवारको खानपान र घरखर्चको मुख्य आधार धान भएकाले यसको व्यवस्थापनमा उहाँको ध्यान केन्द्रित भएको छ ।

आगामी मंगलबारदेखि पानी पर्ने हल्ला चलेपछि भरतसहित सोही गाउँका अरु किसानलाई धान भित्र्याउन झन् हतारो भएको छ ।

खेतमा काट्न बाँकी धान पानी पर्नुअघि नै भित्र्याउन सकियोस् भनेर परिवारका सदस्य मिलेर काम गरिरहेको उहाँले बताउनुभयो ।

हेकुलीकै अर्का किसान रामबहादुर चौधरीलाई पनि दसैँ सकिएसँगै धान काट्ने चटारो परेको छ । दसैँअघि हरियो देखिने धान पाकेर काट्ने बेला भएपछि चाडपर्व सकिनेबित्तिकै खेतमा निस्कनुपरेको उहाँले बताउनुभयो ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका किसान पनि धान भित्र्याउन व्यस्त छन् । गाउँका धेरै किसानले धान घरमा भित्र्याइसकेका छन् । तर, दसैँ मनाउन व्यस्त हुँदा केही किसानको धान भित्र्याउने काम भने पछाडि परेको छ ।

कुमलगडीका किसान जितराम चौधरीले दसैँ र धान भित्र्याउने समय एकै पटक परेकाले दुवै कामलाई सँगसँगै अघि बढाउनुपरेको बताउनुभयो ।

उहाँका अनुसार आधा धान भित्र्याइसकिएको छ भने बाँकी धान एक–दुई दिनभित्र भित्र्याउने तयारी छ ।

दाङका अधिकांश किसानहरुले घरपरिवारका लागि वर्षभरि खान पुग्ने धान राखेर बाँकी बिक्री गरी घरखर्च चलाउदै आएका छन् ।

–गोरखापत्रको अनलाइन संस्करणबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस