दाङ। तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानलाई सिंचाई सुविधामा सहजता भएको छ ।
विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ ।

बृहत्त दाङ उपत्यका सिंचाई आयोजनामार्फत ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ ।
अहिले धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब २ सय बिघा जमिनमा सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले बताउनुभयो ।
उहाँका अनुसार उक्त ड्याम निर्माण भएपछि सिंचाई मात्रै नभई आसपासका कुवा तथा इनारहरुमा पानीको स्तर बढेको छ । यसले गर्दा पानीको सहजता भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको बताउनुभयो । विगतमा सिंचाई नहुँदा सुक्खा रहने जमिनहरु अहिले हराभरा हुने गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुकासाथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताउनुभयो । सोही ड्याममा डुंगा पनि छ । त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ ।


























