२०८२ फाल्गुन २६ गते मङ्गलवार

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित


स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।

पहिलो र दोस्रो सुपर ओभरमा बराबरी भएपछि तेस्रो सुभर ओभरमार्फत जितको टुंगो लागेको थियो । तेस्रो सुपर ओभरमा पहिलो बलमा नै कप्तान रोहितलाई गुमाएको नेपालले रन बनाउन सकेन् ।

आजको खेलमा नै डेब्यु गरेको रुपेश कुमार सिंहले सुपर ओभरमा तीन बल डट खेलेर आउट हुनुभयो । पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए ।

त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ४८ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गर्नुभयो । यस्तै ओपनर कुशल भुर्तेलले ३४ रन बनाउनुभयो । आज डेब्यू गरेको किरण ठगुन्नाले १५ रन बनाउँदा रुपेश सिंहले पनि १९ रनको योगदान दिनुभयो ।

करण केसी ८ रनमा आउट हुँदा लोकश वम शुन्य रनमा नै पेभेलियन फर्किनुभयो । यस्तै दीपेन्द्र सिंह ऐरीले ३, अनिल शाहले एक रन बनाउनुभयो ।

नेदरल्याण्डका डेनियल डोरमले उत्कृष्ट बलिङ गर्नुभयो । चार ओभर बलिङ गरेका उहाँले १४ रन दिएर महत्वपूर्ण तीन विकेट लिनुभयो ।

त्यसअघि स्कटल्यान्डको टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिनुभयो । उहाँले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाउनुभयो । त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाउनुभयो । उहाँले २९ बलमा दुई छक्का प्रहार गर्नुभयो । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पार्नुभयो । अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् ।

यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा स्कटल्याण्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस