दाङ । दाङलगायत विभिन्न जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ । दाङ, रोल्पा, रुकुमलगायतका जिल्लामा भारी वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले सावधानी अपनाउन आग्रह गरेको छ ।
गएरातीदेखिको लगातारको वर्षाका कारण राप्ती नदि, बबई नदि, सेवारखोला, कालाखोला, ग्वारखोला, सक्राम खोला, पातुखोलाको पानीको बहाव बढ्दै गएको छ । तर अझैसम्म खतरको तह पार गरेको छैन् । पानी लगातार परिरहेकाले होचा स्थानमा डुबान तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएकोले सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले आग्रह गर्नुभएको छ ।
घोराही तmुसीपुर सडक खण्डमा यातायातका सवारी साधान सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । वर्षातका कारण दाङ–सल्यान सडकखण्ड भने अबरुद्ध रहेको लम्सालले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सयौँ यात्रु बिचबाटोमै रोकिएका छन् ।
दाङ जिल्ला भएर बग्ने बबई र राप्ती नदीको लगायतमा जलस्तर सतर्कता सीमाभन्दा माथि पुग्ने सम्भावना रहेकोले डुबान र कटानको उच्च जोखिम रहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाबाट जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभएको छ ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका महिला, बालबालिका, वृद्ध नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ सर्न स्थानीय सुरक्षा निकायमार्फत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।
नदी आसपासको क्षेत्रमा बस्ती रहेको पालिकाहरूलाई आवश्यक सुरक्षा अपनाउन जानकारी गराइसकेको लम्सालले जानकारी दिनुभयो । साथै सम्बन्धित वडास्तरका विपद् व्यवस्थापन समितिहरू, सुरक्षाकर्मी र स्थानीय प्रतिनिधिहरूलाई आफ्नो क्षेत्रको जोखिम मूल्याङ्कन गर्दै पूर्वतयारी र तुरुन्तै प्रतिक्रिया जनाउन निर्देशन जारी गरिएको छ ।

साथै, क्यूआरटी टोली परिचालनको तयारी अवस्थामा राख्न र आवश्यक परे तुरुन्तै उद्दार कार्यमा खटिन समेत आग्रह गरिएको छ । सुरक्षा निकाय, सरोकारवाला निकाय, नागरिक समाज, संचारमाध्यम लगायत सबैलाई विपद् जोखिम व्यवस्थापनमा सहयोग गर्न र सचेत रहन प्रमुख जिल्ला अधिकारी लम्सालद्धार हस्ताक्षरित सूचनामा अनुरोध गरिएको छ ।














