दाङ । दाङको घोराहीमा अन्तरविद्यालयस्तरिय बास्केटबल प्रतियोगिता सुरु भएको छ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा सोमबारदेखि सुरु भएको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गर्नुभएको हो ।
नगरप्रमुख चौधरीले खेलकुद केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई अनुशासन, स्वास्थ्य र एकताको उत्कृष्ट माध्यम भएको बताउनुभएको छ ।
उहाँले खेलकुदमार्फत विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्तीका साथै आपसी सद्भाव र टोली भावना विकास हुने भन्दै विद्यालयस्तरमै यस्ता प्रतियोगिताको आयोजना हुनु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो । ‘आजका विद्यार्थी भोलिका राष्ट्रका मेरुदण्ड हुन् । ‘खेलले उनीहरूलाई नेतृत्व क्षमता, समय व्यवस्थापन र सहिष्णुताको पाठ सिकाउँछ’ मेयर चौधरीले भन्नुभयो ।
गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शान्तिसुधा बोर्डिङ स्कुलका प्रधानाध्यापक विनयकुमार मिश्र, पद्यमोदय पब्लिक नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत र बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीले पनि शुभकामना मन्तव्य राख्नुभएको हो ।
कार्यक्रममा गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलले स्वागत मन्तव्य गर्नुभएको थियो भने सहजीकरण शिक्षक विवेक देवकोटाले गर्नुभएको हो ।
प्रतियोगिताको पहिलो दिनको खेलमा गोरखा ‘बी’ समूहले गुरुकुल ‘बी’ समूहलाई ५८–२५ अंकले, गोरखा ‘ए’ समूहले जनज्योति ‘सी’ समूहलाई ८८–१८ अंकले पराजित गरेका छन् ।

त्यस्तै, गुरुकुल ‘ए’ समूहले शान्तिसुधालाई ८१–१२ अंकले, शान्तिसुधाले पद्यमोदयलाई २०–१७ अंकले, र गुरुकुल ‘बी’ समूहले दिपशिखालाई ३०–१९ अंकले हराउँदै विजय हासिल गरेका छन् ।
आयोजक गुरुकुल एकेडेमीका अनुसार चार दिनसम्म चल्ने यस प्रतियोगितामा दाङ जिल्लाका विभिन्न विद्यालयका १४ टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।














