दाङ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानमा कार्यरत प्रहरी नायब निरीक्षक विष्णु प्रसाद न्यौपानेलाई असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको छ ।
दाङको तुलसीपुर–७ निवासी न्यौपानेले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा अभिवृद्धि तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय काम गरेको भन्दै उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको हो ।
संगठनात्मक नीति, निर्देशन तथा प्रचलित कार्यविधिअनुसार व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन न्यौपानेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कार्यालयले जनाएको छ ।
उहाँले प्युठान जिल्लाका बढी दुर्घटना हुने स्थानमा नौ वटा क्रयास ब्यारियरमा रिफ्लेक्टर र रियर टाँस गर्ने, विद्युतीय सवारीसाधनमा हुन सक्ने आगलागीको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा जिल्लामा सञ्चालित १०७ वटा सार्वजनिक सवारीसाधनको मेकानिकल जाँच गर्ने काम गर्नुभएको छ ।
त्यस्तै, लामो समयदेखि अनुशासित रूपमा सवारी सञ्चालन गर्दै आएका सार्वजनिक सवारीचालकलाई उत्कृष्ट चालकका रूपमा सम्मान गरी जिम्मेवार र अनुशासित चालक संस्कृतिलाई प्रोत्साहन गरिएको छ । विभिन्न सवारीसाधनका ७५ जना चालकको स्वास्थ्य परीक्षण तथा ३७ जना चालकको लागुपदार्थ सेवनसम्बन्धी परीक्षण गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा पठाइएको प्रमाणपत्रमा उल्लेख छ ।
ट्राफिक व्यवस्थापनका लागि आवश्यक जनशक्ति परिचालन, उपलब्ध साधनस्रोतको प्रभावकारी उपयोग, सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य, सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम र यात्रु सहायता कक्ष सञ्चालनमा समेत उहाँको भूमिका रहेको कार्यालयले जनाएको छ ।
उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले न्यौपानेलाई ‘Best Traffic Police of the Month’ घोषणा गरेको हो । रुपन्देही कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाद्वारा हस्ताक्षरित प्रशंसापत्रमा उहाँको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ ।


























