तुलसीपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले हिजो सोमबार दिउँसो भएको आगलागीप्रति दुःख व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष लालबहादुर केसीले विज्ञप्ति जारी गर्दै पीडित उद्योगीलाई तत्काल राहत दिलाउन तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।
उहाँले यस्ता दुर्घटनाले उद्योगी–उद्यमीको जीवनयापन नै संकटमा पर्ने भएकाले सरकार र सरोकारवाला निकायलाई सहयोगका कार्य अघि बढाउन आग्रह गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१२ पुकार पसल नजिकै रहेको सिद्धिबिनायक फर्निचर उद्योगमा हिजो करिब दिउँसो ३ बजेतिर आगलागि भएको थियो । आगलागीबाट सम्पूर्ण फर्निचर, कच्चा पदार्थ सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणका लागि स्थानीय सरकार, स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरी सक्रिय भए पनि उद्योगको केही भाग पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको बताइएको छ ।














