दाङ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका तुलसीपुरका अरुण चौधरीको दुई महिना बितिसक्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।
बाढीमा बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ दक्षिण कुरहरियाका २२ वर्षका अरुण चौधरीको खोजी गर्दा पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेपछि हिन्दू संस्कारअनुसार कुशको शव बनाएर हिजो शनिबार अन्तिम संस्कार गरेको परिवारले जनाएको छ ।
परिवारका अनुसार बाढी आएको दिनदेखि अरुण सकुशल फर्किने आशामा बाटो हेरे पनि दुई महिनासम्म कुनै सम्पर्क हुन सकेन । शरीरसमेत फेला नपरेपछि कुशको शब बनाएर अन्तिम संस्कार गरेको अरुणको काका रिस्मान चौधरीले जानकारी दिनुभयो ।
अरुण गत भदौ १० गते रसुवामा आएको भोटेकोशी नदीको विनाशकारी बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । रसुवास्थित लाङटाङ खोला हाइड्रोपावरमा सब–इन्जिनियरका रूपमा कार्यरत अरुण बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा आउनुभएको छैन ।


























