दाङ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम टी–२० अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ । १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले सात विकेटको क्षतिमा अन्तिम बलमा चौका प्रहार गर्दै भेट्टाएको हो ।
आज बिहीबार भएको पहिलो खेलमा टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो । अस्ट्रेलियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन् । भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोड्नुभयो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाउनुभयो । पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो ।
नेपाललाई सस्तैमा समेट्न साउथ अस्ट्रेलियाका थम्पसन, टी ब्राउन र एच मानेन्टीले समान दुईदुई विकेट लिए ।
१४७ रनको लक्ष्य पाएको अस्ट्रेलियाका लागि जवाफी ब्याटिङमा एपी विन्टरले सर्वाधिक ३६ रन बनाउँदा होगेनबोरिजिमले २८ र एमडब्लु हार्वेले २७ रन जोड्नुभयो । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । नन्दन यादवले दुई विकेट लिएको खेलमा कप्तान रोहित पौडेलले एक विकेट हात पार्नुभयो ।

नेपाल र साउथ अस्ट्रेलियाको टी–२० अभ्यासको अर्को खेल आजै हुँदैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि मंगलबार भएका दुई अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ । मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पारेको छ ।
आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआई प्रतिस्पर्धा गर्न लागेको हो। उक्त खेल शनिबार बिहान ५ः१५ बजे सुरु हुनेछ ।












