२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङ उपत्यकासहित अधिकांश ठाउँमा लगातार वर्षा : भोलिदेखि कम हुँदै जाने

दाङ। दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा बिहिबारदेखि लगातार वर्षा भइरहेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ ।

बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा) रहेको छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । त्यसैले केही दिनयता बादल लाग्ने र पानी पर्ने भइरहेको छ ।

शनिबारबाट भने त्यसमा सुधार हुने प्रक्षेपण छ । अर्का मौसमविद गोविन्द झाले पनि शनिबार मनसुनी गतिविधि केही कम हुने जानकारी दिनुभयो । शनिबार नेपालमा मनसुनको गतिविधि तुलनात्मक रुपमा अलिकति कमजोर रहने उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस