दाङ । लुम्बिनी प्रदेशसहित पश्चिम नेपालमा आज वर्षाको संभावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी प्रदेशसहित देशका अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको संभावना छ ।
मौसमविद रोजन लामिछानेले पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षाको संभावना बढी रहेको बताउनुभयो । उहाँले सकेसम्म मौसमी जानकारी लिएरमात्रै टाढाको यात्रा गर्न र कृषिबाली भित्र्याउन आग्रह गर्नुभएको छ ।
दाङ उपत्यकामा पनि आज बिहानैदेखि मौसम धुम्म परेको छ । उपत्यकाका अधिकांश ठाउँमा बादल लागेको छ । तर गर्मी बढ्दै गएका बेलामा शितलता महशुस पनि गरिएको छ । यो समय हिउँदे बाली भित्र्याउने समय भएकाले वर्षाले बालीमा क्षति पुर्याउनेमा किसान भने चिन्तित छन् ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा मधेश प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
















