२०८२ चैत्र १२ गते बिहिवार

भोलिदेखि मौसमी गतिविधि थप सक्रिय बन्ने


दाङ । भोलिदेखि मौसमी गतिविधि थप सक्रिय बन्ने देखिएको छ । भोलि पहाडी तथा हिमाली सबै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेकाले सतर्क रहन महशाखाले आग्रह गरेको छ । विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका १/२ ठाउँमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

भोलि राति हिमाली भू–भागमा बादल तथा पहाडी र तराई भू–भागमा साधारण बदली हुनेछ । यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा तराई भूभागको १/२ ठाउँमा मेघगर्जन सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।

दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका धेरै ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ । आज राति पनि हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । विशेषगरी कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा तथा अरु हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस